काठमाडौँ - नेपाल क्रिकेट संघ (क्यान) ले गृहमन्त्रालयको निर्देशनअनुसार असोज ८ अर्थात यही शनिबारबाट कात्तिक ५ गतेसम्म हुने भनिएको नेपाल टी-२० लिग तत्कालका लागि स्थगित गर्यो।
क्यानले जनाएअनुसार लिग अब डिसेम्बर ११ देखि ३१ तारिखसम्म आयोजनाका लागि प्रस्ताव गरिएको छ। करिब १ महिना चल्ने लिगमा ६ टिमको सहभागिता रहने सुनिश्चित भइसकेको छ। साथै नेपाली तथा विदेशी खेलाडीका लागि अक्सनसमेत भइसकेको छ।
तर आईसीसीको खेल तालिका तथा नेपालले सहभागिता जनाउने आईसीसी क्रिकेट विश्वकप लिग-२ को तालिका हेर्दा क्यानले डिसेम्बरमा लिग आयोजना गर्न सक्ने सम्भावना न्यून रहेको देखिन्छ।
लिग-२ मा नेपालले अझै ४ वटा त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्न बाँकी रहेको छ। नेपालले नामिविया र स्कटल्यान्ड सम्मीलत एउटा सिरिज खेल्न बाँकी छ। यो सिरिज नोभेम्बर-डिसेम्बरमा हुने सम्भावना छ। किनभने त्यसअघि दुवै नामिविया र स्कटल्यान्ड अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी-२० विश्वकपमा सहभागिता जनाउँदैछ।
डिसेम्बर-जनवरीमा नेपालले लिग-२ का अर्को २ सिरिज खेल्नुपर्ने हुन्छ। दुवै सिरिजमा युएई र पपुवा न्यूगिनी रहनेछन्। युएई पनि टी-२० विश्वकप खेल्दैछ। लिग-२ अन्तर्गतको अन्तिम सिरिज नेपालले आगामी फेब्रुअरीमा खेलिसक्नुपर्नेछ। उक्त सिरिज नेपालले नामिविया र स्कटल्यान्डविरुद्ध खेल्नेछ। सो सिरिजपछि सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपका लागि आईसीसी क्रिकेट विश्वकप छनोट प्ले-अफ तथा विश्वकप छनोट आयोजना हुने तालिका छ।
लिग-२ अन्तर्गत नेपालले ४ त्रिकोणात्मक सिरिजमा १६ खेल खेल्नुपर्नेछ। अहिलेको अवस्थामा नेपालले २० खेलबाट १७ अंक जोड्दै ७ टिममध्ये छैटौँ स्थानमा रहेको छ। २४ खेल खेलेको पपुवा न्यूगिनीमात्र २४ खेलबाट ५ अंक जोड्दै नेपाल भन्दा तल रहेको छ।
यता ३६ खेलबाट ४४ अंक जोडेको ओमान शीर्ष स्थानमा हुँदा २८ खेलबाट ४० अंक जोडेको स्कटल्यान्ड दोस्रो तथा ३२ खेलबाट २९ अंक जोडेको अमेरिका तेस्रो स्थानमा रहेका छन्। २६ खेलबाट २७ अंकसहित युएई चौथोँ तथा २२ खेलबाट २६ अंक जोडेको नामिविया पाँचौँ स्थानमा रहेका छन्।
आईसीसीले जनाए अनुसार लिग-२ मा शीर्ष ३ मा रहने टिमले सिधैँ विश्वकप छनोट खेल्नेछन् भने पुछारका ४ टिमले छनोटका लागि प्ले-अफ खेल्नुपर्नेछ।