काठमाडौँ - अस्ट्रेलियामा जारी आठौं संस्करणको टी-२० विश्वकप सेमिफाइनलमा आज भारत र इंग्ल्याण्ड खेल्दैछन्। भारत-इंग्ल्याण्डबीचको सेमिफाइनल खेल दिउँसो १ः४५ देखि एडिलेड ग्राउन्डमा सुरु हुनेछ। आजको खेलमा दुवै टोली पूरा तयारीका साथ मैदान उत्रँदै छन्।
निकै महत्वपूर्ण यो खेलमा दुवैको लक्ष्य जित हासिल गर्दै फाइनल पुग्नु हुनेछ। हालसम्म भारत र इंग्ल्याण्डले १/१ पटक टी-२० विश्वकप जितेका छन्। यी दुवै टिम यसपटक दोस्रोचोटि विश्वकप ट्रफी जित्ने दाउमा रहेका छन्।
राम्रो लयमा रहेकाले भारत र इंग्ल्याण्डबीचको खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान छ। आजको विजेताले फाइनलमा पाकिस्तानको सामना गर्नेछ। पाकिस्तान पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डलाई हराउँदै फाइनलमा पुगिसकेको छ।