काठमाडौँ - नेपालले यूएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय खेल जित्न १ सय ७७ रनको मध्यम लक्ष्य पाएको छ। नेपालका कप्तान रोहित पौडेलले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेपछि निर्णायक खेलमा ब्याटिङ गर्न आएको यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाई १ सय ७६ रन बनायो।
यूएईबाट एलिसन सराफुले ३३ र रोहन मुस्ताफाले २४ रन बनाए। सराफुले ६९ बल खेल्दै ४ चौका प्रहार गरे। पूर्व कप्तान मुस्ताफाले ५६ बलको इनिङ्समा २ चौका प्रहार गरे। ओपनर मोहम्मद वासिमले ११ रन बनाए।
दोस्रो ओभरको पहिलो बलमै वासिमले गुलशन झाको बलमा छक्का प्रहार गरेका थिए। त्यसको अर्को बलमा गुलशनले वासिमलाई विकेटकिपर आसिफ शेखबाट क्याच गराए। अर्का ओपनर वृत्य आनन्दलाई सोमपाल कामीले शुन्यमा बोल्ड गरे। गुलशनले यूएईका कप्तान सीपी रिजवानलाई ४ रनमा आसिफबाटै क्याच गराएपछि नेपालले खेल नियन्त्रणमा लिएको थियो।
सराफु र मुस्ताफाले चौथो विकेटमा ६३ रनको साझेदारी गरेका थिए दीपेन्द्रसिंह ऐरीले मुस्ताफालाई कुशलबाट उत्कृष्ट क्याच गराए पछि यूएईको पतन पुन: सुरु भएको थियो। सराफुलाई कुशलले आफ्नो लेग स्पिनबाट बोल्ड गरेका थिए। बसिल हमिद ८ र विष्णु सुकुमरन २ रनमा आउट भए। पूर्व कप्तान अहमद राजा र जाहुर खानले खाता खोल्न सकेनन्। जाहुर रनआउट भएका थिए।
आयन खान र हजरत बिलालले अन्तिम विकेटमा अविजित ८३ रनको साझेदारी गरेपछि यूएई केही बलियो बनेको थियो। यसै शृंखलाबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सुरु गरेका आयनले ६३ बलमा अविजित ५४ रन बनाएका छन्। उनले ७ चौका र १ छक्का प्रहार गरेका थिए। बिलालले ५४ बल खेली १ छक्कासहित २० रन बनाए। दुवैको एकदिवसीय अन्तर्राष्ट्रियमा उच्च स्कोर हो।
नेपालबाट गुलशन, दीपेन्द्र र कुशलले २/२ विकेट लिए। दीपेन्द्रले १० ओभरमा ३ मेडन राख्दै २२ रन खर्चे। ललित राजवंशीले १० ओभरमा २ मेडन राख्दै २० रनमात्र खर्चेर १ विकेट लिए। नेपालले अलराउन्डर करण केसीको स्थानमा हरिशंकर शाहलाई प्लेयिङ ११ मा राखेको छ। हरिशंकरले यसै शृंखलाको पहिलो खेलमा एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए।
शृंखला १/१ को बराबरीमा छ। यूएईले पहिलो खेलमा नेपाललाई सजिलै ८४ रनले पराजित गरेको थियो। नेपालले दोस्रो खेल ३ विकेटले जित्दै शृंखला बराबरीमा ल्याएको थियो। नेपालले यस खेल जितेमा पहिलो पटक घरेलु मैदानमा एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला जित्ने छ।