काठमाडौँ - अन्तर्राष्ट्रिय महिला दिवशको अवसर पारेर गलकोटमा आयोजित महिला किसानको फसल र उद्यमीका उत्पादनको प्रदर्शनीमा उत्कृष्ट हुनेलाई पुरस्कृत गरिएको छ।
महिला किसानले उत्पादन गरेका कृषि फसल ल्याएर आफ्नो सीपको परिचय दिएका थिए। कृषि र उद्यमी समूहमा एक प्रदर्शनीमा प्रगति एकीकृत कृषि तथा पशुपालन समूह प्रथम, लगनशील अर्गानिक किसान समूह द्वितीय र लङ्गुरे महिला किसान समूह तृतीय भएका थिए। त्यस्तै, महिला उद्यमी प्रदर्शनीमा सिर्जना लघुउद्यम समूह प्रथम, छितिज डलकुसन समूह द्वितीय र सिर्जनशील लघु उद्यम समूह तृतीय भएको गलकोट नगरपालिकाकी उपप्रमुख रेणुका काउचाले जानकारी दिए। उत्कृष्ट ठहरिएका महिला किसानलाई गण्डकी प्रदेशका शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेषलाल श्रेष्ठले पुरस्कार प्रदान गरेका छन्। उनले उद्यमीलाई प्रोत्साहनका लागि बजारीकरणमा साथ दिनुपर्ने बताएका छन्।
केही समयअघि नगरपालिकाले उपप्रमुख महिला उद्यम दायित्व कार्यक्रम पनि सञ्चालन गरेको हो। उक्त कार्यक्रममा नगरभरका २० उद्यमी महिला किसानलाई पुरस्कृत गरिएको थियो।