काठमाडौं - हुम्लाको अदानचुली गाउँपालिका–४ पान्स भन्ने स्थानमा सु.प.०१००१ ज ११८३ नम्बरको जिप शनिबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार सोही गाउँपालिका–५ बारीगाउँ बस्ने १५ वर्षीय प्रबेश ऐडी र सोही गाउँपालिका–५ करगै बस्ने ४५ वर्षीय फागुने लोहारको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका जिप चालक समेत ७ जनालाई उपचारको लागि श्रीनगर स्वास्थ्य चौकी श्रीनगर लगिएकोमा थप उपचारको लागि स्वास्थ्य चौकी कोल्टी बाजुरा पठाइएको छ ।
दाङको राजपुर गाउँपालिका–५ स्थित सडकमा रा.१ ख २३६० नम्बरको बसले रा.७ प २०७ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार सोही गाउँपालिका–५ नौसरा बस्ने २३ वर्षीय प्रमोद यादवको घटनास्थलमै र गम्भीर घाइते भएका मोटरसाइकल चालक राजपुर गाउँपालिका–५ नौसरा बस्ने २२ वर्षीय प्रदिप यादवको लमही अस्पताल लमही दाङ हुँदै थप उपचारको लागि कोहलपुर बाँकेतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कैलालीको भजनी नगरपालिका–१ स्थित सडकमा सु.प.प्र.०१०१० प ९०६८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २५ वर्षीय धिरज चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचारको क्रममा मृत्यु भएको हो ।
पर्साको वीरगंज महानगरपालिका–१४ गण्डक सालिक चोकमा ना.३ ख ५७२२ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री पर्सागढी नगरपालिका–५ पचरुखी बस्ने ३५ वर्षीया फुला देवी राय र उनकी छोरी ६ वर्षीया कृतिका रायको मृत्यु भएको छ । शनिबार दिउँसो उक्त ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका उनीहरूको वीरगंज हेल्थ केयर हुँदै बिएण्डबी अस्पताल ग्वार्को ललितपुरमा थप उपचारको क्रममा गएराति मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रूपन्देहीको तिलोत्तमा नगरपालिका–७ सुनयनास्थित सडकमा लु.१ ज ३२१९ नम्बरको ट्याक्सी र लु.९प८३३६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई गएराति दुर्घटना हुँदा मोटरसाइकलमा सवार देवदह नगरपालिका–१० चरङ्गे बस्ने १७ वर्षीय तिउजन पुनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन हस्पिटल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्सी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रौतहटको चन्द्रपुर नगरपालिका–१ स्थित सडकमा नारायणगढबाट काकडभिट्टातर्फ जाँदै गरेको मे.१ ख २५३६ नम्बरको बसको ठक्करबाट साइकल चालक चन्द्रपुर नगरपालिका–१ पौराई बस्ने ५६ वर्षीय जगत बहादुर राई र साइकलमा सवार उनकै श्रीमती ५५ वर्षीया धनमाया राईको आइतबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको चपुरस्थित चन्द्रपुर प्रालि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।