काठमाठौँ - अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्फाको अन्तर्राष्ट्रिय विभाग प्रमुखमा नविन पाँडेको नियुक्ति विधान विपरित नभएको जनाएको छ।
एन्फाले सोमबार एक विज्ञप्ति जारी गर्दै विधान मिचेर पाँडेलाई नियुक्त नगरिएको जनाएको हो। एन्फाको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले अन्तर्राष्ट्रिय विभाग प्रमुखमा पाँडेलाई नियुक्ति गरेको थियो।
एक साताअघि पंकज विक्रम नेम्वाङ नेतृत्वमा एन्फाको नयाँ कार्यसमिति चयन भएको थियो। पाँडेको नियुक्ति विधान विपरित भएको भन्दै आलोचना भइरहेको छ।
संघको विधानको धारा २४ को ३ र क मा स्पष्टसँग गैर नेपाली नागरिक एन्फा, प्रदेश फुटबल संघ, जिल्ला फुटबल संघमा निर्वाचित वा मनोनित हुन सक्नेछैन भनेर ब्याख्या गरिएको र फुटबल खेलको विकासको लागि मुख्य प्रशिक्षक, प्रशिक्षक, फुटबल प्राविधिक लगायतका पदमा विदेशी नागरिकलाई प्रयोग दिने चलन रहेको कारण उनको नियुक्ति विधान विपरित नरहेको एन्फाले जनाएको छ।
यस्तै एन्फाले पाँडेले यस संघबाट कुनै तलब सुविधा नलिई स्वैच्छिक रुपमा सो पदमा रहेर काम गर्ने जनाएको छ। चार वर्षअघि पनि कर्माछिरिङ शेर्पा अध्यक्षमा निर्वाचित भएपछि पाँडेलाई नै अन्तर्राष्ट्रिय विभाग प्रमुखको नियुक्त गरेको थियो। तर, उनले झन्डै ८ महिनापछि राजीनामा दिएका थिए।