काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन गर्ने लिखित प्रतिबद्धता गरेको पत्र आइतवार एकाएक सार्वजनिक भयो।
एमसीसी मुख्यालयलाई १६ फागुनभित्र एमसीसी संसदबाट अनुमोदन गर्ने भन्दै लेखिएको संयुक्त हस्ताक्षरसहितको त्यो पत्र २९ सेप्टेम्बर अर्थात १३ असोजमा पठाइएको थियो।
प्रधानमन्त्री देउवाले आफू र दाहालले संयुक्त रुपमा एमसीसी बोर्ड अध्यक्षलाई सम्बोधन गरेर पत्र पठाएको यसअघि नै खुलासा गरिसकेका छन्।
पत्र आइतवार अकस्मात सार्वजनिक भएपछि दाहाल नैतिक संकटमा परेका छन्। उनले आइतवार नै प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवासमक्ष पत्र सार्वजनिक गरेकोमा असन्तुष्टि जनाइसकेका छन्। देउवाले भने प्रधानमन्त्री कार्यालयका तर्फबाट पत्र सार्वजनिक नभएको स्पष्टीकरण दिएका छन्।
एमसीसी मुख्यालयले देउवा र दाहालबाट प्रतिबद्धता व्यक्त भएको मिति नजिकिँदै जाँदा दबाब बढाइरहेका बेला आइतवार अकस्मात सो पत्र नै सार्वजनिक भएपछि मुलुकको राजनीति नै तरंगित भएको छ। राजधानी दैनिकमा खबर छ ।