कञ्चनपुर - परराष्ट्रमन्त्री एनपी साउदले आरक्षपीडित र भूमिहीनको समस्या समाधान गर्न गम्भीर भएर काम गरिरहेको बताएका छन्। नेपाली कांग्रेसको कृष्णपुर नगर सम्मेलनमा परराष्ट्रमन्त्री साउदले आफूले प्रतबद्धता गरे अनुसार आरक्षपीडित र भूमिहीनको समस्या समाधानको लागि काम गरिरहेको बताएका हुन्।
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका मन्त्री साउदले राज्यले विभिन्न समयमा आरक्षपीडित र भूमिहीनको समस्या समाधानका नाममा ३१ ओटा आयोग गठन गरेको पनि बताए।
उनले थपे, 'विभिन्न समयमा अयोगहरु बने र अर्बौ रूपमा खर्च भए पनि समस्या जस्ताको त्यस्तै भएकाले मैले ३२ औं पटक आयोग गठन गर्नु नपर्ने गरी प्रधानमन्त्रीसँग गम्भीरताका साथ कुरा गरेको छु, त्यस्तै भूमिसुधार मन्त्री र वन मन्त्रीसँग पटकपटक छलफल गरेको छु।'
गृहजिल्ला कञ्चनपुर पुगेका मन्त्री साउदले एक फरक प्रसंगमा कार्यकर्ता इमानदार बने नेपाली कांग्रेससँग एक्लै चुनाव लड्ने हिम्मत कसैले गर्न नसक्ने पनि बताए।
उनले थपे, 'पार्टीले इमानदार सिपाही ठानेर टिकट दिएको र जनताले क्षमता देखेर जिताएकाले काम गर्न कन्जुस्याइँ गर्नुहुँदैन।' उनले आफू निर्वाचित हुँदा कंचनपुर २ का लागि महत्त्वपूर्ण काम गरेको र यसपटक पनि आफू सक्दो काम गर्ने वचनबद्धता व्यक्त गरे।