काठमाडौँ । चितवनमा मतदाताको सङ्ख्या चार लाख चार हजार २०० पुगेको छ।
गत प्रतिनिधिसभाको निर्वाचन २०७४ मा चितवनमा तीन लाख ५४ हजार ३६ मतदाता थिए। अहिले यो सङ्ख्या ५० हजार १६४ ले बढेको हो। १६ वर्ष उमेर पुगेपछि नेपाली नागरिकले मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था छ। मताधिकार प्रयोग गर्न १८ वर्ष पुग्नुपर्ने हुन्छ। यही कात्तिक मसान्तसम्म जिल्लामा तीन लाख ७८ हजार ७२१ मतदाता थिए।
गत मङ्सिर १७ देखि पुस १९ मा सकिएको मतदाता दर्ता विशेष कार्यक्रममा छ स्थानीय तहबाट १२ हजार ५२० ले नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। यस्तै, जिल्ला निर्वाचन कार्यालय चितवन, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा मङ्सिरयता यही माघ ५ गतेसम्म १३ हजार ६४ ले मतदाता नामावली दर्ता गराएका छन्।
भरतपुर महानगरका स्थानीयवासीले जिल्ला निर्वाचन कार्यालयमै नाम दर्ता गराएका हुन्। निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जिल्लामा गत मङ्सिरयता २५ हजार बढीले नाम दर्ता गराएको जानकारी दिए। मतदाता नामावलीमा दर्ता गराउने छ हजार हाराहारी १८ वर्ष नपुगेका रहेको उनले बताए। सरकारले स्थानीय तहको निर्वाचन घोषणा नगरेसम्म नामावली दर्ता गराउनेक्रम जारी रहेन कार्यालयले जनाएको छ।
गत मङ्सिर र पुसमा १५ दिनसम्म विशेष अभियान चलाउँदा दर्ता गर्न छुटेकाले जिल्ला निर्वाचन, जिल्ला प्रशासन र इलाका प्रशासनबाट नाम दर्ता गर्ने व्यवस्था मिलाइएको थियो।