भरतपुर - भदौ २५ गतेदेखि सुरु हुने इसुजु चितवन गोल्डकप अन्तराष्ट्रिय आमन्त्रण फुटबलको तयारी अन्तिम चरणमा पुगेको छ। आयोजक भरतपुर फुटबल क्लबले सोमबार पत्रकार सम्मेलन गरी गोल्डकपको तयारीबारे जानकारी दिएको हो।
नारायणगढको क्याम्पा चौरमा असोज ३ गतेसम्म चल्ने गोल्डकपका लागि ४ हजार दर्शक क्षमताको अस्थायी प्याराफिट निर्माण भइरहेको संयोजक धुव्र भुसालले जानकारी दिएका छन्।
गोल्डकपमा स्वदेशी र विदेशी गरी १० टोली सहभागी हुनेछन्। सहभागी टिमलाई २ समूहमा विभाजन गरिएको छ। गोल्डकपको उद्घाटन खेलमा आयोजक भरतपुर फुटबल क्लब र मोतिहारी एफसी भिड्नेछन्। गोल्डकप विजेताले उपाधिसहित ७ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख ५० हजार प्राप्त गर्नेछ।
प्रतियोगिता सम्पन्न गर्न ७० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ। दर्शकका लागि सेमिफाइनलसम्म १ सय र सेमिफाइनल र फाइनलका लागि २ सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ। पत्रकार सम्मेलनमा चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले ठूलो लगानीमा स्तरीय प्रतियोगिता आयोजना हुनु गौरवको विषय भएको बताएका छन्।