काठमाडौँ - आइसिसी विश्वकप लिग-२ अन्तर्गत एकदिवसीय सिरिजमा नेपालले आज घरेलु टोली नामिबियाको सामना गर्दैछ। नेपाल र नामिबियाबीचको खेल दिउँसो १ः१५ देखि विन्डहोकस्थित वान्डरर्स क्रिकेट मैदानमा सुरु हुनेछ।
सिरिजमा नेपाल नामिबियालाई हराउँदै सुखद सुरुवात गर्न चाहन्छ। नामिबिया घरेलु मैदानको फाइदा उठाउँदै जित निकाल्ने सोचमा छ। हालसम्म नेपालले नामिबियाविरुद्ध २ एकदिवसीय अन्तर्राष्ट्रिय म्याच खेलेको छ। जसमा नेपाल दुवै खेलमा पराजित भएको छ।
विश्वकप लिग-२ अन्तर्गत नै खेलिएको सिरिजमा नामिबियासँग नेपाल क्रमशः ४० रन र ६३ रन पराजित भएको छ। विश्वकप लिग-२ को अंक तालिकामा नेपाल हाल छैैटौँ स्थानमा रहेको छ।
१७ अंक जोडेको नेपालले २० म्याच खेल्दा ११ मा हार, ८ मा जित र १ खेलमा अंक बाँडेको छ। त्यस्तै, २६ म्याच खेलेको नामिबिया तालिकाको चौथो स्थानमा रहेको छ। उसले २६ म्याच खेल्दा १६ मा जित र १० खेलमा हारको सामना गरेको छ।