काठमाडौँ । उत्तरी चीनको साङ्सी प्रान्तमा ३० घण्टाभन्दा बढी समयदेखि बाढी आएको कोइला खानीमा फसेका २१ जना खानी कामदारको उद्धार कार्य जारी रहेको स्थानीय अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन्।
चार सयभन्दा बढी उद्धारकर्ताहरू उद्धार कार्यका लागि खानीतर्फ कुदिरहेको बताइएको छ। घटनास्थलमा थुप्रै पम्पहरू स्थापना गरिएको छ शुक्रबार बिहान ६ बजेसम्म खाडलमा पानीको स्तर २.१ मिटरले घटेको जनाइएको छ। उद्धारकर्ताहरूले थप पम्पहरू जडान गरेर खाडलबाट प्रति घण्टा ३०० घन मिटरभन्दा बढी पानी निकाल्ने योजना बनाएका छन्। दुर्घटना सियाओई शहरको डुक्सिगो गाउँको कोइला खानीमा बुधबार राति करिब ११ बजे भएको थियो।
प्रारम्भिक अनुसन्धान अनुसार दुर्घटनाको कारण अवैध उत्खनन रहेको बताइएको छ। न्यून तापक्रम र तीव्र हावाले खोजी र उद्धार कार्यलाई थप कठिन बनाएको बताइएको छ।
घटनामा संलग्न सात जनालाई स्थानीय सार्वजनिक सुरक्षा विभागले नियन्त्रणमा लिएको छ भने फरार अन्यको खोजी भइरहेको छ।