काठमाडौँ - अमेरिकाले सिरियाको सुरक्षा र स्थायित्वमा अवरोध गरेको आरोप दमास्कसले लगाएको छ। सिरियाली विदेश मन्त्रालयले शुक्रबार एक विज्ञप्ति निकालेर उत्तरपूर्वी सिरियामा अमेरिकी सेनाको उपस्थितिको उद्देश्य सिरियाली तेल दोहन, देशको स्थायित्व र सुरक्षा पुनःस्थापनामा अवरोध गर्न भएको आरोप लगाएको हो।
अमेरिकी अभ्यास र आतङ्कवादी समूहहरूलाई असीमित समर्थन सिरियाका निम्ति अब नैतिक र राजनीतिक रूपमा स्वीकार्य नभएको जनाउँदै दमास्कसले आफूमाथि लगाइएको अमेरिकी प्रतिबन्धको आलोचना गरेको छ। एकपक्षीय अमेरिकी प्रतिबन्धले सिरियाली जनताको जीवनलाई जोखिममा पारेको र त्यो सिरियाको वर्तमान र भविष्यका लागि हानिकारक भएको बताएको छ।
सन् २०१४ मा इस्लामिक स्टेट ९आईएस० सँग लड्ने बहानामा अमेरिकी सेना सिरियामा प्रवेश गरेको थियो। सिरियाली सरकारले आफ्नो भूमिबाट अमेरिकी सेना फिर्ता गर्न बारम्बार आह्वान गर्दैआएको छ।