काठमाडौँ - जारी फिफा विश्वकप फुटबल अब अन्त्य तिर पुगेको छ। अब सेमिफाइनल र फाइनल खेल बाँकी छ। यसैबीच विश्वकपमा भएको क्वाटरफाइनलको अर्जेन्टिना र नेदरल्याण्डसबीचको खेल अहिलेसम्म पनि चर्चामा रहेको छ।
यस खेलमा अर्जेन्टिना र नेदरल्याण्डसबीच खेल बाहेक पनि भएका अन्य घटना अहिले चर्चा र बहसमा रहेका छन्। अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४-३ ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको यस खेलमा खेलाडीको व्यवहार र आपसी झगडाको विषय अहिले पनि बहसमा छ।
शुक्रबार भएको दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्याण्ड्स भिड्दै थिए। कयौं पटक दुवै टोलीका खेलाडीहरु आपसमा भिडेका थिए। यस खेलमा रेफ्रीले खेलको क्रममा र खेलपछि गरेर कुल १८ पहेँलो कार्ड देखाएका थिए।
अर्जेन्टिनाका कप्तान तथा स्टार खेलाडी लियोनल मेस्सीले पनि यस खेलमा पहेँलो कार्ड पाएका थिए। खेलमा मेस्सी निकै आक्रामक देखिएका थिए। उनले ७३औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए। त्यसपछि उनले गोलको अनौठो तरिकाले सेलिब्रेट गरेका थिए।
उनको स्टाइल देखेर फ्यानहरु छक्क परेका थिए, किनकि उनीहरुले मेस्सीलाई त्यो स्टाइलमा गोलको सेलिब्रेसन गरेको यस अघि कहिल्लै देखेका थिएनन्। गोल गरेपछि मेस्सी डच डग आउटको अगाडि उभिए र दुवै हात कानमा राखेर खुशी मनाएका थिए। वास्तवमा, मेस्सीले नेदरल्याण्ड्सका प्रशिक्षक लुइस भान गाललाई आफ्नो सेलिब्रेसनबाट जवाफ दिएका थिए। खेलपछि पनि अर्जेन्टिनाको टोली जित्दा मेस्सी लुइस भान गालसँग भिड्दै देखिएका थिए। तर, मेस्सीलाई अन्य खेलाडी र स्टाफले शान्त पारेका थिए।
वास्तवमा यो सबै कुरा अहिलेको होइन। मेस्सीले गरेको यो घटना लुइस भान गालको यो खेल अघिको मेस्सी बारेको टिप्पणीसँग मात्र समिति छैन। यो घटनासँग २० वर्ष पहिलेको घटना पनि जोडिएको छ। त्यसपछि लुइस भान गाल बार्सिलोनाका प्रशिक्षक थिए। लुइस भान गालले ल्याटिन अमेरिकी खेलाडीहरूलाई त्यति मन पराउदैनन् भने कुरा मिडियामा आइरहन्थ्यो।
२०२२ मा, लुइस भान गालले बार्सिलोनाबाट खेल्ने अर्जेन्टिनाका खेलाडी रोमन रिक्वेल्मीसँग निकै नराम्रो व्यवहार गरेका थिए। उनले रिक्वेल्मीले आफ्नो निर्देशन पालना नगर्ने, आफूले बताएको स्थितिमा नखेल्ने आरोप लगाउने गरेका थिए। यो पूरै विवादपछि रिक्वेल्मी बार्सिलोना छोडेर भिल्लारियल क्लबमा आबद्ध भएका थिए।
यसपछि रिचेल्मीले भिल्लारियलका लागि गोल गरेपछि लुइस भानको अगाडि कानमा हात राखेर विशेष तरिकाले सेलिब्रेसन गरेका थिए। लुइस भान गाललाई अहिले मेसीले पनि रिक्वेल्मीको झल्को दिदै २० वर्षपछि उस्तै विशेष तरिकाले गोल सेलिब्रेसन गरेर सो घटना सम्झाइदिएका छन्।
यस बाहेक खेलअघि भान गालले आफूमाथि गरेको टिप्पणीलाई लिएर मेस्सी असन्तुष्ट थिए। अर्जेन्टिना र नेदरल्यान्ड्सको खेलअघि गालले मेस्सीको खिल्ली उडाउँदै भनेका थिए-'अर्जेन्टिनाको कब्जामा खेल नहुँदा मेस्सीले केही गर्न सक्दैनन्। मलाई लाग्छ अर्जेन्टिनाको टोली हामीसँग डराएको छ। हामी सजिलै मेस्सीलाई रोक्न सक्छौं।' अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको खेलपछि मेस्सीले लुइस भान गालसँग यस विषयमा झगडा गरेका थिए।
मेस्सीले खेलपछि आफु भान गालको खेलअघिको टिप्पणीबाट अपमानित महसुस गरेको बताउदै उनले अर्जेन्टिनाको समेत अपमान गरेको बताएका थिए।
अर्जेन्टिना सन् १९८६ पछि पहिलो पटक विश्वकप जित्नबाट २ कदम मात्र टाढा छ। टोली २०१४ मा फाइनलमा पुगेर पनि विश्वकप जित्न असफल भएको थियो। अब अर्जेन्टिनाले सेमिफाइनलमा ब्राजिललाई हराएको क्रोसियाको सामना गर्दैछ।