काठमाडौँ - बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकुले नेसन्स लिगअन्तर्गग बुधबार पोल्याण्डविरुद्धको खेल गुमाउने भएका छन्। चोटका कारण लुकाकुले घरेलु मैदानमै हुने खेल गुमाउने निश्चित भएको प्रशिक्षक रोबर्टो मार्टिनेजले जनाएका हुन्।
लिग ‘ए’ को समूह चारमा रहेको बेल्जियम पहिलो खेलमा नेदरल्यान्डसँग ४–१ ले पराजित भएको थियो। लुकाकुलाई मैदान फर्कन कति समय लाग्छ भन्ने उनको चोटको अवस्था हेरेर थाहा हुने बेल्जियम फुटबल संघले जनाएको छ।
प्रशिक्षक रोबर्टो मार्टिनजेले नेसन्स लिग कतार विश्वकप २०२२ अघि टोलीका लागि राम्रो अभ्यास भएकाले टोलीले स्वभाविक लय अनुरूपको प्रदर्शन गर्नेमा विश्वस्त रहेको बताएका छन्।
मार्टिनेजले भने, ‘हामीले यहाँ कठिन प्रतिद्धन्द्धीविरुद्ध खेलिरहेका छौं। यी खेलले टोलीमा केहि सुधार आउनेछ। चोटका कारण लुकाकु भने उपलब्ध हुने छैनन्। आशा छ केही दिनको विश्रामपछि उनी टोलीमा फर्कनेछन्।’