काठमाडौँ । कर्णालीको जुम्लास्थित गुठिचौर गाउँपालिका – ५ कुम्डीमा रहेको नौमूले लघुजलविद्युत् आयोजनाको विद्युत्गृहमा समस्या आउदा चार गाउँ अन्धकार भएका छन्।
मंगलबारदेखि विद्युतगृहमा समस्या आएको हो। विद्युतगृहमा जडान गरिएको फित्ता चुडिएपछि समस्या आएको व्यवस्थापक गणेशराज गिरीले जानकारी दिए। गुठिचौर गाउँपालिका–५ भित्रका कुम्डी, फोई, देपालगाउँ र धिता गाउँका उपभोक्ता अध्याँरोमा बस्न बाध्य छन्। विद्युत् गृह मरमत गर्न अझै एक हप्ता लाग्ने जनाइएको छ। गाउँपालिकाभित्रका करिब ५५० घरधुरीका उपभोक्ता विद्युत्बाट लाभान्वित भएका थिए। विद्युत् अवरोध भएपछि स्थानीयवासीलाई मोबाइल चार्ज गर्न, विद्यार्थीलाई पढ्न, सरकारी कार्यालय, गैरसरकारी निकायका कामकाज प्रभावित भएका छन् । ७६ किलोवाटको क्षमताको लघुजलविद्युत् सञ्चालनमा ती गाउँबस्तीलाई सहज भएको थियो।
त्रिभुवन माध्यमिक विद्यालयका लेखापाल राजेन्द्र भण्डारीले विद्युत् अवरोध हुँदा अध्यापनमा समस्या भइरहेको जानकारी दिएका हुन्।