इटहरी- यसैबीच राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीबाट अलग भएर नेता कमल थापाले ठीकै गरेको जस्तो लागेको प्रतिक्रिया दिएका छन्। इटहरी निवासी पूर्वमन्त्री रामकुमार सुब्बा निवासस्थलमा पत्रकारहरूसँगको छोटो भेटमा उनले भने, ‘सँगै काम गरेको मान्छे पार्टीबाट अलग हुनु दुःखद् छ तर, अब बाटो फरक भएपछि उहाँले ठीकै गर्नुभयो जस्तो लाग्यो।’
हिजोको दिनमा नेता थापाले सत्ताको लागि मात्रै राजसंस्था स्थापनाको नारा लगाउने काम गरेको उनको आरोप छ। ‘यसबाट पार्टीका कुनै नेता, कार्यकर्ता, शुभेच्छुक भ्रममा नपर्न आग्रह गर्दछु,’ उनले भने, ‘हामी यो परिणामबाट अझ बलियो भएर आउँछौँ,स्थानीय तहको निर्वाचनको तयारीमा छौँ।’ सबै स्थानीय तहमा उमेद्वार उठाएर बिजेता भएका स्थानमा सकारात्मक काम गर्ने उनले बताए। राजसंस्था र हिन्दुराष्ट्रको मुद्वा उठाउनु कुनै व्यक्तिलाई राजा बनाउने नभइ राजसंस्था नेपालको स्थायित्वको आधार रहेको उनले बताए।