काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभा तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनसँग सम्बन्धित गतिविधिबारे जानकारी दिन आयोग परिसरमै मिडिया सेन्टर स्थापना गरी सञ्चालनमा ल्याएको छ।
शुक्रबारदेखि सञ्चालनमा आएको मिडिया सेन्टरमार्फत निर्वाचनसम्बन्धी सूचनालाई एकीकृत, व्यवस्थित र आधिकारिक रूपमा प्रवाह गर्ने उद्देश्य रहेको आयोगले जनाएको छ। सञ्चारमाध्यमसँग समन्वय र सहकार्य बढाउन मिडिया सेन्टर स्थापना गरिएको हो।
आयोगद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले मिडिया सेन्टरमार्फत निर्वाचनसम्बन्धी आधिकारिक सूचना प्रवाह, पत्रकार सम्मेलन आयोजना तथा सञ्चारमाध्यमलाई सत्यतथ्य समाचार उपलब्ध गराइने जानकारी दिए।
उनका अनुसार सामाजिक सञ्जालमार्फत फैलिने अपुष्ट र भ्रामक सूचनालाई ध्यानमा राख्दै त्यसको सत्यतथ्य पहिचान गर्ने, सरोकारवाला निकायसँग समन्वय गर्ने र सकारात्मक सूचना प्रवाह सुनिश्चित गर्ने लक्ष्यसहित सूचना सदाचार प्रवर्द्धन केन्द्रसमेत स्थापना गरिएको हो। यस केन्द्रको मुख्य ध्यान सामाजिक सञ्जालमा केन्द्रित रहने उनले बताए।
प्रवक्ता भट्टराईले यसपटक निर्वाचन आयोगले सामाजिक सञ्जाल प्लेटफर्महरूसँग समेत सहकार्य गर्ने लक्ष्य लिएको उल्लेख गर्दै सही, विश्वसनीय र तथ्यपरक सूचना आमनागरिकसम्म पुर्याउन पहल गरिने बताए।
उनले निर्वाचनको तयारीसम्बन्धी सम्पूर्ण काम तीव्र गतिमा भइरहेको जानकारी दिँदै निर्वाचनको अनुकूल वातावरण बनाउन आयोगले सरकार, राजनीतिक दल तथा सुरक्षा निकायहरूसँग निरन्तर संवाद गरिरहेको बताए।
.png)
.png)
.png)
.png)
.png)
.png)


