म्याग्दी । बेनी अस्पतालको निर्माणाधीन पचास शय्या क्षमताको भवनका ठेकेदार आठ महिनापछि काममा फर्किएका छन् । गत वैशाख महिनादेखि रोकिएको भवनको निर्माण कार्य अलपत्र परेको विषयमा विभिन्न संचारमाध्यमबाट गत मङ्सिरमा समाचार सार्वजनिक भएको थियो । सम्बन्धित कार्यालयले कारबाही प्रक्रिया अघि बढाउनाका साथै नागरिक समाज, राजनीतिक पदाधिकारी , प्रशासनिक क्षेत्र र सञ्चार क्षेत्रबाट भएको दबाबका कारण ठेकेदार काममा फर्किएका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए।
“चौतर्फी दबाब सिर्जना भएपछि ठेकेदार काममा फर्किएका हुन्,” उनले भने, “दैनिक ३०/३५ मजदुरले काम गर्न थालेका छन् । अब भवन निर्माणले पूर्णता पाउने आशा पलाएको छ ।” विसं २०७३ मङ्सिर २१ गते महादेव खिम्ती–गल्वा–रफिना जेभीले सो भवन बनाउन रु १८ करोड ८४ लाख आठ हजार ८९ मा ठेक्का सम्झौता गरेको थियो । चार हजार ९६३ वर्गमिटर जमिनमा बनाउन लागिएको चारतले तीनवटा भवन विसं २०७६ मङ्सिर २० गते निर्माण सक्ने लक्ष्य थियो । सघन सहरी तथा भवन डिभिजन कार्यालयका इञ्जिनियर वीरबल सुनारले हालसम्म भवन निर्माणको काम साठी प्रतिशत पुगेको बताए ।
सार्वजनिक खरिद ऐनको पछिल्लो संशोधन र कोरोना सङ्क्रमणका कारण आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणमार्फत थपिएको म्याद गत मङ्सिर २० गते सकिएको छ । ठेक्का लिने महादेव खिम्तीका सञ्चालक रवि सिंह निर्माण व्यवसायी महासङ्घका अध्यक्ष पनि हुन् । तीन तला ढलान र प्लास्टर भइसकेको भवनमा टायल राख्ने, रङ्गरोगन, विद्युत्, पानी, फर्निचर जडानलगायत काम बाँकी छन् । कार्यालयले निर्माण व्यवसायीको घरौटी जफत गर्न बैंकलाई र निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न चेतावनीसहितको पत्र पठाएको थियो ।
साझेदारीमा काम गरेका तीनवटै निर्माण व्यवसायीको लेनदेन विवादले भवन निर्माणमा असर परेको थियो । भवन निर्माण अलपत्र परेपछि सेवा प्रवाहमा असर परेको अस्पतालका प्रमुख चिकित्सक जितेन्द्र कँडेलले बताए । “पचास शय्या क्षमता भए पनि १५ शय्याको संरचना र पूर्वाधारबाट सेवा दिन बाध्य छौँ,” उनले भने, “पुराना र साँघुरा भवनमा अस्पताल सञ्चालन गर्न समस्या भएको छ ।”
नयाँ भवन बनाउन पुरानो भवन भत्काइएको थियो । बहिरङ्ग कक्षको सेवा अस्थायी भवनबाट सञ्चालन गरिएको छ । आकस्मिक र अन्तरङ्ग कक्ष पुरानो प्रशासनिक भवनबाट सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालयको भवनमा अस्पताल प्रशासन र व्यवस्थापन समितिको कार्यालय राखिएको छ । सघन उपचार कक्ष (आइसियु) र डायलाइसिस कक्ष पनि स्वास्थ्यकै भवनमा स्थापना गरिएको छ । पन्ध्र शय्या क्षमताको अस्पताल २०७२ मा पचास शय्यामा स्तरोन्नति भएको थियो । भूकम्प प्रतिरोधी क्षमताको भवन अपाङ्गमैत्रीसमेत हुनेछ । भुइँतलामा लोन्डरी, मोर्टुअरी, किचन, पहिलो तलामा इमरजेन्सी, ल्याब, रेडियोलोजी, पहिलो तलामा अपरेसन थियटर, बहिरङ्ग सेवा र अन्तिम तलामा प्रशासन रहने जनाइएको छ ।
निर्माण कम्पनीका प्रतिनिधि रविन जोशीले पुरानो भवन भत्काउन, रूख कटान र ढुवानीका लागि सडक बनाउन समयमै अनुमति पाउन भएको ढिलाइले सम्झौता गरेको एक वर्षपछि मात्र काम सुरु गर्न पाएको बताए ।साझेदारी गरेका तीनवटा निर्माण कम्पनीको लेनदेन विवाद अदालत पुगेको छ । अदालतको आदेशअनुसार कार्यालयले रु दुई करोड भुक्तानी रोकेर राखेको छ । मजदुर, आपूर्तिकर्ता र सहायक निर्माण कम्पनीले भुक्तानी नपाएको गुनासो गरिरहेका छन् ।