अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

काठमाडौं - कागेश्वरी मनोहरा नगरपालिका–५ थलिबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ६८ मिलिग्रामसहित बुढानिलकण्ठ नगरपालिका–१० कपन बस्ने ४४ वर्षीय प्रदिप कुमार सिंहलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका–३ भन्सारबाट अवैध लागूऔषध ब्राउनसुगर ४० मिलिग्रामसहित सोही उपमहानगरपालिका–१ शिवनगर बस्ने २२ वर्षीय भरत राज जोशीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

झापाको बिर्तामोड नगरपालिका–६ बुट्टाबारी स्टाफ चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्रामसहित भद्रपुर नगरपालिका–५ घर भई अर्जुनधारा नगरपालिका–११ बस्ने २५ वर्षीय सुरज बिश्चकर्मालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी झापाको अर्जुनधारा नगरपालिका–११ गिरी बन्दु टिस्टेट चिया बगानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ९० मिलिग्रामसहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय बिनम उराउ र ३० वर्षीय कुमार सुब्बा रहेका छन् । अस्थायी प्रहरी पोष्ट बर्सपार्कबाट खटिएको प्रहरीले सुब्बालाई १ ग्राम १ सय ९० मिलिग्राम र उराउलाई ४ सय मिलिग्राम उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी झापाको मेचिनगर नगरपालिका–६ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४७ ग्रामसहित ३ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका–१० कालिस्थान घर भई मेचिनगर नगरपालिका–६ सुनगाभा टोल डेरा गरी बस्ने २६ वर्षीय प्रकाश पौडेल, काठमाडौं महानगरपालिका–१६ ढुङगे अड्डा बस्ने ३० वर्षीय ईश्वर अधिकारी र झापा अर्जुनधारा नगरपालिका–१० कालिस्थान बस्ने २२ वर्षीय पुजन तामाङ रहेका छन् । ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका–२ नारायणी पुलबाट अवैध लागूऔषध गाँजा करिब १ किलोसहित सोही नगरपालिका–२ बस्ने २१ वर्षीय अभिशेक गुरूङ समेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कर्यालय गैंडाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

मोरङको विराटनगर महानगरपालिका–१७ स्लामपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २४ मिलिग्रामसहित सोही महानगरपालिका–१२ बस्ने ४० वर्षीय प्रभात कटुवाललाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मटेरूवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ग.५ प ३७२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित चालक कटुवाललाई पक्राउ गरेको हो ।

लमजुङको सुन्दरबजार नगरपालिका–६ खत्रीठाटीबाट अवैध लागूऔषध गाँजा करिब ४ किलोसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका–१६ बस्ने ५१ वर्षीय प्रेम पराजुली र सोही महानगरपालिका–१९ बस्ने ४० वर्षीय जिवन पौडेल रहेका छन् । ईलाका प्रहरी कार्यालय सुन्दरबजारबाट खटिएको प्रहरीले ग.११ प ९४४० नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

बाँकेको खजुरा गाउँपालिका–६ सिमलघारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय मिलिग्रामसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय प्रकाश बहादुर धामी र १९ वर्षीय बिजय घिमिरे रहेका छन् । ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×