हेटौँडा - हिन्दूहरूको महान् पर्व शिवरात्रिका अवसरमा आज हेटौँडा उपमहानगरपालिका–४ कर्रामा रहेको पशुपतिनाथ मन्दिरमा आज बिहानदेखि हिन्दू धर्मावलम्बी दर्शनार्थी पूजाआजका लागि भीड लागेको छ।
पूजाका लागि जल, बेलपत्र, पुष्प (फूल), अक्षता, दूध, दही, मिष्ठानधुप र अगरबत्तीलगायत सामग्री लिएर बिहानैदेखि महिला, पुरुष, वृद्धवृद्धा र बालबालिका पूजाका लागि लाइनमा लागेर भगवान् शिवको पूजाआरधाना गरिरहेका छन्।
कोरोना महामारीका कारण विगत दुई वर्षदेखि बन्द रहेको सो मन्दिर यसपटक खोलिएपछि हर्षाेल्लासका साथ भक्तजन पूजाका लागि व्यस्त रहेको पाइएको छ। हाल त्यहाँ मेला लागेको छ भने भजनकीर्तनसमेत भइरहेको छ। यसैगरी हेटौँडाको फरेष्टी कलेज हातामा रहेको शिव मन्दिरलगायत सहरका अन्य शिव मन्दिरमा पूजाआजा भइरहेको छ।