काठमाडौँ - नेपाल सरकारले गाँजालाई औषधीमा प्रयोग गर्न दिनेगरी कानुन निर्माण गर्ने तयारी थालेको छ।
गृह मन्त्रालयले गाँजा तथा गाँजाजन्य पदार्थ (नियमन) विधेयक -२०७८ तयार पारेको हो। विधेयक फागुन १० गते गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णय गरेर मन्त्रिपरिषद्को सैद्धान्तिक सहमतिका लागि पठाइसकेका छन्। मन्त्रालयको लागु औषध नियन्त्रण शाखाका प्रमुख उपसचिव गोकर्णप्रसाद उपाध्यायका अनुसार विधेयकमा गाँजाको उत्पादन, संकलन, बिक्री वितरण र निकासी कसरी गर्ने भन्ने विषय समेटिएको छ। त्यो विधेयक कानुन निर्माण भएपछि तत्काल कार्यान्वयनमा ल्याउने तयारी गृहको छ।
यो विधेयक कानुन भएर आएपछि लागुऔषध नियन्त्रण ऐन २०३३ ले गाँजाको प्रयोगमा पूर्ण रूपमा लगाएको बन्देज खुल्नेछ। ‘लागुऔषध नियन्त्रण ऐन २०३३ ले गाँजाको प्रयोगमा पूर्ण रूपमा लगाएको बन्देज यो विधेयक कानुन भएर आएपछि खुल्छ,’ उपसचिव उपाध्यायले भने। मन्त्रालयले केही दिनअघिमात्रै सार्वजनिक गरेको गृह प्रशासन सुधार कार्ययोजनामा ‘गाँजाको औषधीय प्रयोगका लागि कार्यविधि तय गर्ने’ उल्लेख थियो। यो विधेयक कानुन बनेर आएपछि त्यसैमा टेकेर कार्यविधि बनाउने तयारी मन्त्रालयको छ।
काठमाडौँ विश्वविद्यालयले गाँजाको अनुसन्धान गर्न र थुप्रै संघ-संस्था तथा फार्महरूले गाँजाको खेती गर्न गृह प्रशासनसँग अनुमति मागिरहेका छन्।