काठमाडौँ - बंगलादेशमा मंगलबारदेखि साफ यू-१५ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरु हुँदैछ। प्रतियोगितामा सहभागिता जनाउन नेपाली टोली शनिबार नै बंगलादेश पुगिसकेको छ। आयोजक बंगलादेश, नेपाल र भुटानको सहभागिता रहेको यस च्याम्पियनसिपको उद्घाटन खेलमा आज (मंगलबार) साँझ भुटान र बंगलादेश भिड्दैछन्।
नेपालले भने आफ्नो पहिलो खेल बिहीबार भुटानसँग खेल्नेछ। नेपाली टोलीको लक्ष्य उपाधि चुम्ने रहेको प्रतियोगिता अघि आयोजित प्रिम्याच कन्फरेन्समा नेपाली टोलीकी मुख्य प्रशिक्षक भगवती रानामगरले बताएकी छिन्। ‘नेपालले राम्रो तयारी गरेर बंगलादेश गएको र सबै खेलाडी शारीरिक र मानसिक रुपमा तयार छन्। सबै टोली बलिया छन्। तर हामी मैदानमा सफल हुनेछौं,’ भगवतीले भनिन्।
नेपाली टोलीका अधिकांश खेलाडीको यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता हो। टोलीकी कप्तान दीपा रोकायाले पनि सबै खेलाडी उपाधि चुम्ने लक्ष्यका साथ ढाका आएको बताएकी छिन्।
नेपालले दोस्रो खेल कात्तिक १९ गते आयोजक बंगलादेशसँग, तेस्रो खेल फेरि कात्तिक २३ गते भुटानसँग र अन्तिम खेल कात्तिक २५ गते बंगलादेशसँग खेल्नेछ। डबल राउन्ड रोविनका आधारमा सञ्चालन हुने च्याम्पियनसिपमा शीर्ष टोलीले उपाधि जित्नेछ।
स्ट्राइकर दीपा रोकायाको कप्तानीमा रहेको नेपाली टोलीको गोलरक्षकमा राधिका ओली, सुजाता तामाङ र रुपा धिमाल, रक्षकहरूमा सीता रोकाया, अमिता भुल, दीपा मगर, अञ्जना पुनमगर, प्रेरणा डोल्मा लामा, रेणु लिम्बु र विपना स्नेही रहेका छन्।
मिडफिल्डरहरुमा सिमरन राई, पुनम चेम्जोङ, भावना परियार, सविता मण्डल, भूमिका बुढाथोकी, सुशीला केसी, सुक्रिया मिया, रेविका नेपाली र मनीषा सेन तथा स्ट्राइकरमा दीपासहित समीक्षा मगर, वर्षा ओली र सेनु परियार रहेका छन्।