काठमाडौँ - एसएस राजामौली निर्देशित चर्चित भारतीय फिल्म ‘आरआरआर’ले प्रतिष्ठित ओस्कार अवार्डको यात्रा थालनी गरेको छ। निर्माताले विहिबार विज्ञप्ति जारी गर्दै फिल्मलाई ‘इन्डिभिजुअल क्याटेगोरी’मार्फत १४ विधाका लागि आवेदन दिएका हुन्।
भारतबाट औपचारिकरुपमा सिफारिस नभएपनि ‘आरआरआर’को ओस्कार सम्भावना भने जीवितै रहेको छ।
उत्कृष्ट फिल्म, उत्कृष्ट अभिनेतादेखि उत्कृष्ट भिजुअल इफेक्टसम्मका प्राविधिक विधामा फिल्मलाई पठाइएको छ। फिल्मले अमेरिकी वितरकमार्फत ओस्कारमा आवेदन दिएको हो। तर, यसको औपचारिक कुरा चाहिँ द एकेडेमी अफ आर्ट्स एण्ड साइन्सेजको सन् २०२३ को मनोनयन सूचीमा थाहा लाग्नेछ।
हालै फिल्मलाई हलिउड सहर लस एन्जल्सस्थित चाइनिज थिएटरमा प्रदर्शन गरिएको थियो र पश्चिमा दर्शकबाट फिल्मले राम्रो प्रतिक्रिया पनि प्राप्त गरेको छ। निर्देशक राजामौलीले दर्शकबाट स्ट्यान्डिङ ओभेसन पनि प्राप्त गरेका थिए।
आरआरआरको अमेरिकी वितरक भेरिएन्स फिल्मसले पनि ओस्कारका १० हजार जना दर्शकमाझ फिल्मलाई सहभागिता गराउनेबारे अभियान चलाउने बताएको थियो। निर्देशक राजामौलीले ओस्कारमा सहभागि भएपनि वा नभएपनि आफ्नो काम गर्ने शैलीमा कुनै परिवर्तन नहुने बताएका छन्।