काठमाडौं - नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी विवादमा फेरि फसेका छन्। राष्ट्रिय टोलीका फुटबलरहरूले बिहीबार एक पत्रकार सम्मेलनमा अल्मुताइरीको प्रशिक्षणमा खेल्न नसेको बताएका हुन्। नेपालका चर्चित डिफेन्डर रोहित चन्दलाई निकालेसँगै अन्य ९ खेलाडीले पनि क्लोज क्याम्प छाडेका थिए ।
यसै विषयमा आयोजित पत्रकार सम्मेलनमा बताएअनुसार होटेलमा राख्न अनुरोध गरेका सिनियर फुटबलर चन्दलाई अल्मुताइरीले टोलीबाट निष्कासित गरेका थिए। उनले एन्फाको होस्टलमा बस्न त्यति सुविधाजनक नभएको हुँदा होटलमा सार्न अनुरोध गरेका थिए। तर,अल्मुताइरीले उक्त कुरा सुन्नुको सट्टा चन्दलाई टोलीबाट नै हटाइदिएर घरको ढोका देखाइदिए। यसको विरोधमा अन्य चर्चित खेलाडी सुजल श्रेष्ठ, अनन्त तामाङलगायतले प्रशिक्षण शैली चित्त नबुझेको प्रतिक्रिया दिए।
अनन्त तामाङले व्यक्तिगत स्वतन्त्रतामा प्रश्न चिह्न उठाउने गरेको बताए। उनले अल्मुताइरीले भनेको कुरा यसरी बताए–तेरो कपाल लामो भयो, ट्याटु किन कुदाइएको आदि यस्ता निजी कुरामा पनि दवाव दिने गर्छन्। यस्तो त कतै भएको छैन होला। प्रशिक्षकले यतिसम्म दबाब दिए कि, उनले लेखेका स्टाटससमेत खेलाडीले सेयर गर्नुपर्ने थियो। विशाल राईले पनि चित्त नबुझेको कुरा भन्दा प्रशिक्षकले निकालिदिन्छु भनेर चेतावनी दिने गरेको बताए। खेलाडीले यस विषयमा एन्फासमक्ष छानविन गर्न पनि आग्रह पनि गरेका छन्। प्रशिक्षण छाडेपछि एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई भेटेर खेलाडीले समस्या समाधानका लागि आग्रह गरेका थिए।
खेलाडीले अल्मुताइरीकै कारण प्रशिक्षण छाड्नु परे पनि उनले नेपालको फुटबलमा क्रमिक सुधारका लागि काम गरेको बताए। अल्मुताइरीकै पहलमा मैत्रीपूर्ण खेल भएको र यसले खेलाडीको आत्मविश्वास बढेको भन्दै विदेशी प्रशिक्षकको प्रशंसा गर्न भने असन्तुष्ट खेलाडीहरु चुकेनन्।