कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले राजनीतिक दलहरूसँग भइरहेको छलफल सकारात्मक र उपलब्धिमूलक रहेको बताएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरूसँगको भेटका क्रममा राप्रपा कार्यालय पुगेका मन्त्री सिन्हाले आगामी प्रतिनिधिसभा निर्वाचन केन्द्रित छलफल सार्थक बनेको बताएका हुन्।
उनका अनुसार भेटघाटमा निर्वाचनलाई कसरी प्रभावकारी, धाँदलीरहित, स्वतन्त्र र सहज रूपमा सम्पन्न गर्न सकिन्छ भन्ने विषयमा विस्तृत कुराकानी भएको छ। राप्रपाका नेताहरूले निर्वाचन कुनै हालतमा समयमै गरिनुपर्ने सुझाव दिएको मन्त्री सिन्हाले जानकारी दिए।
‘आउने निर्वाचनलाई स्वच्छ र विश्वसनीय बनाउने, तयारी र समय व्यवस्थापनका विषयमा छलफल भयो,’ मन्त्री सिन्हाले भने, ‘आगामी दिनमा पनि दलहरूबाट आवश्यक सुझाव लिँदै जाने सहमति भएको छ।’
सरकारले गठन गरेको राजनीतिक संवाद समितिको तर्फबाट कानुनमन्त्री सिन्हासहित सञ्चारमन्त्री खरेल र प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख सल्लाहकार अजयभद्र खनाल विभिन्न राजनीतिक दलका कार्यालयमा पुगेर भेटघाटलाई तीव्र बनाइरहेका छन्। निर्वाचनको अनुकूल वातावरण निर्माण गर्न सरकार र दलहरूबीच सहकार्य आवश्यक रहेको निष्कर्षका साथ छलफल अघि बढाइएको बताइएको छ।
.png)
.png)
.png)
.png)
.png)
.png)


