काठमाडाै - युएईले आइसिसी विश्वकप सुपर लिग–२ मा स्कटल्यान्डलाई ५ विकेटले पराजित गरेको छ। जितको लागि १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको युएईले ४४.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेकाे हाे। युएईको जितमा वृत्य अरविन्दले ९८ बलमा ५ चौकासहित सर्वाधिक ५४ रन बनाएका थिए।
मोहम्मद वासिम ३६, चिराग सुरी ४ र सिपी रिजवान ३० रनमा आउट भए। जवार फरिद १९ बलमा ३ चौका र २ छक्कासहित ३२ रनमा अविजित रहे। स्कटल्यान्डका शफ्यान शरिफले २ विकेट लिएका थिए।
त्यसअघि मुसा क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको स्कटल्यान्ड ५० ओभरमा १ सय ७१ रनमा अल आउट भएको थियो। स्कटल्यान्डका सफ्यान शरिफले ४८ बलमा १ चौकासहित सर्वाधिक ३० रन बनाएका थिए।
जर्ज मुन्शेले ६८ बलमा २९ रन जोडे। म्याथ्यु क्रस ५, काइल कोट्जर १० र कलुम म्याकलेड २० रनमा आउट भए। युएईका कासिफ दाउद र कार्तिक मयप्पनले २–२ विकेट गिराए ।
यस त्रिकोणात्मक सिरिजमा अमेरिका, स्कटल्यान्ड र युएई छन्। युएईले अव आज राती अमेरिकासँग खेल्नेछ। यस सिरिजपछि नेपाल, अमेरिका र ओमानबीच त्रिकोणात्मक सिरिज हुनेछ। स्कटल्यान्ड २० खेलमा १३ खेलमा जित र ५ खेलमा हारका साथ दोस्रो स्थानमा रहेकाे छ।
युएई २१ खेलमा ११ मा जित र ८ मा हारका साथ तेस्रो स्थानमा रहेकाे छ। अमेरिका १९ खेलमा ९ मा जित र १० मा हार सहित चौथो स्थानमा रहेकाे छ। र नेपाल भने १२ खेलमा ६ मा जित र ६ मा हार सहित छैटौं स्थानमा रहेकाे छ।