काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको नियामकीय अधिकारभित्र रहेका बैंक तथा वित्तीय संस्थामा समस्या आउन नदिने बताएका छन् । नेपाल बैंकर्स सङ्घले आज यहाँ आयोजना गरेको सञ्चारकर्मीसँगको छलफलका क्रममा गभर्नर अधिकारीले बलियो नियामकीय संरचना र वित्तीय आधार भएका कारण कुनै पनि संस्था नडुब्ने दाबी गरे ।
‘राष्ट्र बैंकले कुनै संस्थालाई ढल्न दिँदैन । बैंक वित्तीय संस्था फेल हुने अवस्थामा छैनन् । साना संस्थामा केही समस्या आउनसक्छ । तर सर्वसाधारणको बचत रकम कुनै पनि हातलमा डुब्दैन’, गभर्नर अधिकारीले भने, ‘राष्ट्र बैंकले नियमन गरेका संस्थाहरु सजिलै डुब्दैनन् । हाम्रो प्रणाली धेरै हदसम्म राम्रो छ । हामीले लिएका नीति राम्रा छन् । बैंकहरुको खराब कर्जा केही प्रतिशत बढ्यो भन्दैमा समस्या हुँदैन । कर्जाको प्रोभिजनिङ निकै राम्रो छ ।’
अहिले बैंकहरुले नाफा खोज्ने नभई आफू कसरी सुरक्षित रुपमा चलिरहने भनेर सोच्नुपर्ने पनि गभर्नर अधिकारीले बताए । पछिल्लो समय बैंक तथा वित्तीय संस्थालाई लक्षित गरी भइरहेका नकारात्मक प्रचारबाजीले पनि समस्या सिर्जना गरेको उनले दाबी गरे । ‘लाभांश कम लिनुस तर संस्था चल्नुपर्छ । बैंक तथा वित्तीय संस्थालाई बलियो बनाउनकै लागि मर्जरको नीति लिइएको हो’, उनले भने, ‘बैंक तथा वित्तीय संस्था भनेको संवेदनशील क्षेत्र हो । तर हाम्रो समाज र अहिलेकाले बैंकिङ क्षेत्र नै नबुझी गाली गर्ने चलन छ ।’