रसुवालीलाई आजको आजै सरकारी सेवा

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय रसुवाले रसुवालीलाई सबैखाले सेवा छिटोछरितो प्रदान गर्न थालेको छ।   

प्रशासनलाई चुस्तदुरूस्त बनाइ नागरिकलाई सुशासन दिलाउन तिनको काम आजको आजै गर्न थालिएको हो ।प्रमुख जिल्ला अधिकारी नवराज जैसीले कार्यालय समय र साँझ नपरुञ्जेल अतिरिक्त समय जिप्रकाले सबै प्रकारका सेवा प्रवाह गरिरहेको बताउनुभयो । आजको आजै काम सम्पन्न हुँदा होटल तथा लजका खर्च जोगिएको सेवाग्राहीले जनाएका छन्। 

यसैबीच सरकारी सम्पत्ति संरक्षणका लागि अलपत्र परेका सरकारी भवन सदुपयोग गर्न थालिएको छ। स्थानीय  तह गठनपछि जिल्लास्तरबाट स्थानान्तरण  भई खाली भएका धुञ्चेस्थित साविकका पशुसेवा, खानेपानी, भूसंरक्षण र महिला विकास कार्यालय  भवन संरक्षण एवं उपयोग गराउन जिप्रकाले गृहकार्य अगाडि बढाएको हो। खाली भवनमध्ये सशस्त्र प्रहरी बल २० नम्बर गुल्मलाई महिला विकासको भवन उपयोग गर्न दिइएको छ।  अन्य तीन भवनमा भने  भाडामा बसिरहेका नापी, निर्वाचन तथा   जिल्ला आर्युवेदिक स्वास्थ्य कार्यालयलाई दिइने प्रजिअ जैसीले बताए।

यसैगरी, जिल्लास्थित अन्य सरकारी कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह र विकास निर्माणका कार्य  छिटो सम्पन्न गर्न जिप्रकाले सहजीकरण गरिरहेको बताइएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×