काठमाडौं – सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई खुला ह्दयले विश्वासको मत दिन निर्देशन दिएका छन् । आज (मंगलबार) बसेको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले दिल खोलेरै विश्वासको मत नदिँदा कांग्रेसको नेतृत्वमा अल्पमतको सरकार बन्ने खतरा रहेको औंल्याए ।
‘प्रधानमन्त्री प्रचण्डजीले अनुचित गठबन्धन छोडेर उचित गठबन्धन बनाउन पहलकदमी लिनु भयो । त्यसैले हामीले दिल खोलेर विश्वासको मत दिनुपर्छ,’ उनले भने, ‘नत्र संविधानको धारा ७६ को उपधारा ३ अनुसार कांग्रेसको नेतृत्वमा अल्पमतको सरकार बन्न सक्छ ।’
अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले भोलि विश्वासको मत नपाए मुलुक ठूलो दुर्घटनामा जाने पनि बताए । ‘हामीसँग विकल्प थिए । तर, यतिबेला कुनै विकल्प छैन ,’ उनले भने, ‘विकल्प भनेको प्रचण्डको नेतृत्वमा यो समीकरण कायम रहन्छ कि त संविधानको धारा ७६ को उपधारा ३ अनुसार कांग्रेसको नेतृत्वमा अल्पमतको सरकार बन्छ भोलि । त्यसैले दिल खोलेर विश्वासको मत दिनुहोला ।’
अध्यक्ष ओलीले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग सहकार्य गर्ने प्रधानमन्त्री प्रचण्डको निर्णय ठीक भएको बताए । ‘हिजो हामीलाई छोडेर कांग्रेससँग मिल्नु भएको थियो । तर, पहिले एकदम नराम्रो काम गरे पनि अहिले एकदम राम्रो काम गर्नुभयो । अनुचित गठबन्धन छोडेर हामीसँग गठबन्धन गर्नुभयो,’ उनले भने । ओलीले प्रधानमन्त्री ‘प्रचण्ड’ ले चालेको पछिल्लो कदम सकारात्मक भएको बताएका छन् । ‘पहिले पहिलेका कुरामा प्रधानमन्त्रीले गल्ती पनि गरेको हुनसक्छ । ठूला–ठूला गल्ती उहिलेको कुरा हो’, उनले भने, ‘अहिले प्रधानमन्त्रीले राम्रो काम गर्नु भएको छ । एकदम अनुचित गठबन्धन छोडेर उचित गठबन्धन बनाउन उहाँले पहलकदमी लिनु भएको छ ।’