काठमाडौँ - उदाउँदो किशोर स्टार कार्लोस अल्काराजले पूर्वविजेता अलेक्जेन्डर भेरेभलाई फाइनलमा हराएर मड्रिड ओपनकाे उपाधिमा आफ्नो नाम लेखाएका छन्।
१९ वर्षिय कार्लोसको यो दोस्रो मास्टर्स १००० उपाधि हो। फाइनलमा अलेक्जेन्डर भेरेभलाई अल्काराजले घरेलु दर्शक अघि ६-३ र ६-१ को सिधा सेटमा हराएका हुन्।
अल्काराज खेल अवधिभर क्ले कोर्टमा निकै आक्रामक देखिएका थिए। जहाँ उनले विश्व नम्बर १ खेलाडी नोभाक जोकोभिच र २१ पटकका ग्राडस्लाम विजेता नाडाललाई हराएर फाइनलसम्मको यात्रा तय गरेका थिए। अल्काराजले फाइनलमा पूर्वविजेता तथा हाल विश्व नम्बर ३ खेलाडी अलेक्जेन्डर भेरेभलाई उनकै घरेलु समर्थकअघि हराएका थिए।
अल्काराज १९९० पछि मास्टर्स १००० जित्ने किशोर खेलाडी बनेका छन्। केही वर्ष अघिसम्म विश्व वरियतामा १२० औं स्थानमा रहेका अल्काराज आइतबारको जित पछि सिधैं विश्व वरियतामा छैटौं स्थान ओगट्न सफल भएका छन्। अल्काराजले मड्रिड ओपनसहित युरो (१० लाख ४१ हजार ५७०) अर्थात नेपाली १३ करोड ५८ लाख ५१ हजार ९७५ रुपैयाँ जितेका छन्।