काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कँदै छन्। संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन सात दिन अघि त्यसतर्फ गएका प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्कन लागेका हुन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सात दिने इटाली भ्रमण सम्पन्न गरी प्रधानमन्त्री प्रचण्ड आज बिहान ९ः०५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछन्।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत साउन ६ गते इटली गएका प्रधानमन्त्री दाहालले ‘युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’लाई सम्बोधन गरेका थिए।
साथै, सो क्रममा प्रधानमन्त्री दाहाल र बङ्गलादेशी समकक्षी शेख हसिना, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरस, विश्व खाद्य कार्यक्रमका कार्यकारी सिन्डे म्याकन, विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक क्यू डोङग्यूबीच भेटवार्तासमेत भएको थियो।
प्रधानमन्त्री प्रचण्डको भ्रमण टोलीमा कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउतलगायतको सहभागिता रहेको थियो। विमानस्थलमा प्रधानमन्त्री प्रचण्डले पत्रकार सम्मेलनसमेत गर्ने उनको सचिवालयले जानकारी दिएको छ।