काठमाडौँ - मुलुक आर्थिक मन्दीबाट गुज्रिएका बेला सरकारले दुई महिनामा २ करोड ७५ लाख ५० हजार रुपैयाँ आर्थिक सहायता बाँडेको छ। मन्त्रिपरिषद्को निर्णयबाट आर्थिक सहायता शीर्षकमा गत जेठ र असारमा सो रकम बाँडेको हो। जेठमा ३५ लाख र असारमा २ करोड ४० लाख ५० हजार रुपैयाँ बाँडेको छ।
पछिल्लो दुई महिनामा सबैभन्दा धेरै आर्थिक सहायता लिनेमा राष्ट्रपति रामचन्द्र पौडेल छन्। राष्ट्रपतिलाई सरकारले ५५ लाख २ हजार २७९ दिएको छ। सरकारले परराष्ट्र मन्त्रालयको आग्रहमा असारको मन्त्रिपरिषद्को निर्णयबाट सो रकम राष्ट्रपतिलाई दिएको हो।
राष्ट्रपतिले सबैभन्दा बढी सहायता रकम प्राप्त गर्दा सबैभन्दा कम पाउनेमा भने काठमाडौँको धर्मकीर्ति विहारकी गुरुमा धम्मावती शाक्य छिन्। उनलाई ६५ हजार ६७२ रुपैयाँ दिइएको छ। कसैलाई धेरै कसैलाई थोरै गरेर गत दुई महिनाभित्र आर्थिक सहायता पाउने ७० जना छन्। सरकारले गत वर्षको साउनदेखि माघ मसान्तसम्म १३९ जनालाई आर्थिक सहायता स्वरूप ५ करोड ४६ लाख ३४ हजार रुपैयाँ वितरण गरिसकेको थियो।
नागरिक दैनिकबाट