काँग्रेसको १४औँ महाधिवेशन : तीन मतदान केन्द्र, एक हजार एक सय बुथ

काठमाडाैं । नेपाली कांग्रेसको १४औं महाअधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान गर्न तीन स्थानमा मतदान केन्द्र तोकिएको छ ।

केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार सोमबार बिहान ८ बजेबाट मतदान सुरु हुनेछ । मतदानका लागि भृकुटी मण्डपभित्र दुई र राष्ट्रिय सभा गृहमा एक मतदान स्थल स्थापना गरिएको हो ।

श्रेष्ठका अनुसार तीन मतदान स्थलमा १ हजार १ सय बुथमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

कांग्रेस १४औं महाधिवेशनको मिडिया सेन्टरका संयोजक डा. सुरेश आचार्यका अनुसार राष्ट्रिय सभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भ्रातृ–शुभेच्छुक संघसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

यसैगरी, भृकुटीमण्डपको प्रांगणमा प्रदेश २ र गण्डकी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था गरिएको छ भने भृकुटीमण्डपको हलमा प्रदेश १, बाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका मतदाताले मतदान गर्ने गरी व्यवस्था गरिएको छ ।

कांग्रेस केन्द्रीय प्रचार समितिका अनुसार निर्वाचनमा २९ प्रकारका मतपत्रको व्यवस्था गरिएको छ भने एक मतदाताले २९ वटै मतपत्रमा मत हाल्नुपर्नेछ ।

मतदानका लागि राष्ट्रिय सभागृहमा २ सय ९३, भृकुटीमण्डप प्रांगणमा २ सय ९३ बुथ र भृकुटीमण्डपको हलमा ५ सय १४ बुथ राखिने भएको छ ।

मतदान सोमबार बिहान ८ देखि ५ बजेसम्म हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट मनोनीत हुने व्यवस्था छ ।

यसैगरी, ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी–जनजाति १५, खस–आर्य १३, मधेसी नौ, थारू चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसंख्यकबाट एक, अपांगबाट एक सदस्य गरी कुल १ सय ३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ । तर, दुई जना भने सर्वसम्मत भइसकेका छन् । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनीत गर्ने विधानमा व्यवस्था छ । राजधानी दैनिकमा समाचार छापिएकाे छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×