‘ वित्तीय सङ्घीयता कार्यान्वयनमा आएन’

 काठमाडौँ - राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले खर्चकोे आवश्यकता, पहिचान र समन्यायिक बाँडफाँटमा जोड दिएको छ।

प्रतिनिधिसभा अर्थ समितिको बैठकमा आयोग अध्यक्ष बालानन्द पौडेलले सङ्घ, प्रदेश र स्थानीय तहले सम्पादन गर्ने कार्यको गुणस्तर र परिणामको मानक स्थापित गर्न आवश्यक रहेको बताए। उनले भने, “मुलुकमा यस वर्ष कति सडक निर्माण हुने विषयको तय केन्द्रबाट भए पनि कुन सडक, कहाँ बनाउने भन्ने छनोट प्रदेश र स्थानीय तहलाई दिइनुपर्छ । विकासका न्यूनतम मानक सबै स्थानीय तहमा पुग्नपर्छ।”

वित्तीय सङ्घीयता कार्यान्वयनका सवालमा आयोगको सिफारिसलाई अवज्ञा गरी शशर्त अनुदान घटाउन पर्नेमा उल्टै बाँड्ने तयारीमा सरकार रहेको जनाउँदै आयोगले प्रदेश र स्थानीय तहबाट औपचारिकरुपमा बजेट अपुग भएको भन्ने गुनासो हालसम्म कहीँकतैबाट प्राप्त नआएको जानकारी दिइयो। एकीकृत कानुन निर्माणका लागि भगिरथ प्रयास गरे पनि सरकारले कानुनको मस्यौदा तर्जुमाका लागि सहमति नदिएको समेत आयोगको गुनासो छ।

 समितिका सभापति कृष्णप्रसाद दाहालले वित्तीय सङ्घीयता लागू गर्ने सम्पूर्ण अधिकार रहेको आयोग स्वयम् कानुनको अभावमा काम गर्न नसक्ने परिस्थितिमा रहनु सुखद् पक्ष नभएको टिप्पणी गरे।

 कतिपय प्रदेशले यातायातबाट उठेको राजस्व स्थानीय तहलाई तथा स्थानीय तहले  नदीजन्य ढुङ्गा, गिट्टी, बालुवाबाट उठेको कर प्रदेशलाई उपलब्ध नगराएको घटना कानुनी राज्यको अवधारणाविपरीत भएको टिप्पणी गरियो। आयोगले दोहोरो राजस्व अधिकार क्षेत्रभित्र परेकामा त्यस्ता कर, राजस्व उठाउने र बाँड्ने सन्दर्भमा थप स्पष्टता हुनुपर्ने तथा राजस्व र अनुदान बाँडफाँटलाई बजेट, खर्च, प्रगति विवरण, कार्यसम्पादन, कामको प्रभावकारिता र जवाफदेहीतासँग जोड्न पर्ने रायसुझाव दिएको छ।

समिति सदस्य सत्या पहाडीले राजस्व बाँडफाँटमा वित्तीय अनुशासन पालना र न्यायिक वितरण नभएकाले ठूलो सुधारको खाँचो औँल्याइन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×