काठमाडौँ - सिन्धुपाल्चोकको मेलम्चीबाट काठमाडौं उपत्यकाका लागि ल्याइएको ३ करोड ५० लिटर खानेपानी काठमाडौं उपत्यकामा अझै वितरण भएको छैन। लम्चीको पानी सुरुङमार्ग हुँदै तेस्रोपटक राजधानी आएको ८ दिनसम्म सबै वितरण हुन नसकेको हो। गत १८ मंसिरमा मेलम्ची खोलाको १७ करोड ५० लाख लिटर पानी राजधानी आएको थियो।
यसको ६ दिनपछि अर्थात् २३ मंसिरदेखि राजधानीका धारामा तेस्रोपटक मेलम्चीको पानी वितरण सुरु भएको थियो। पानी वितरण सुरु भएको ८ दिनमा पनि पुरै पानी राजधानीबासीलाई वितरण हुन सकेको छैन।
६ महिनासम्म बन्द रहेको वितरण सञ्जालमा आएको समस्याका कारण पुरै पानी वितरण गर्न नसकिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल०ले जनाएको छ। मेलम्ची खोलाबाट २६।५ किलोमिटर सुरुङमा हाली सुन्दरीजल प्रशोधन केन्द्रमा ल्याइएको १७ करोड ५० लाख लिटरमध्ये हाल १४ करोड लिटर पानीमात्र राजधानीमा वितरण भइरहेको छ।
केयूकेएल आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको नयाँ वितरण सञ्जालमा नियमित पानी नहाल्दा केही ‘भल्व’मा ‘सिक्वेन्स’ मिलाउन समय लागेको जनाइएको छ। १७ करोड ५० लाख लिटर पानी वितरण गर्न अझै केही दिन लाग्ने केयूकेएलले जनाएको छ।
काठमाडौंबासीले पनि नियमित रूपमा आउँदै गरेको पानी पनि वितरण प्रभावित भएको भन्दै गुनासो गरेका छन्। मेलम्चीबाट पानी ल्याएर प्रशोधन गरिने सुन्दरीजल क्षेत्रका स्थानीयबासीले पनि पानी नपाएको गुनासो गरेका छन्।
राजधानी दैनिकबाट