काठमाडौँ । केही दिनयतादेखि बढेको चिसोका कारण उदयपुरको जनजीवन प्रभावित भएको छ।
बाक्लो हुस्सु र चिसो हावाका कारण स्थानीयवासीको जनजीवन कष्टकर बन्दै गएको छ। केही दिनयता बढेको अत्याधिक जाडोका कारण जिल्लाको जनजीवन प्रभावित भएको बेला यहाँका अतिगरीब तथा विपन्न समुदायको जनजीवन नराम्ररी प्रभावित बनेको छ। चिसो बढेपछि धेरैजसो ठाउँमा आगो बाल्न थालिएको छ। न्यानो हुन आगो बालेर ताप्ने गरिएको छ। केही दिनयतादेखि जिल्लामा हुस्सु र कुहिरो लाग्ने गरेको छ।
चिसोका कारण दैनिक ज्याला मजदूरी गर्ने श्रमिक सबैभन्दा धेरै मर्कामा परेका छन् भने बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्यमा समस्या देखिन थालेको छ। चिसोका कारण सहर बजार तथा सार्वजनिक ठाउँमा चहलपहलसमेत घटेको छ। चिसो हुस्सुका कारण जनजीवन प्रभावित भइरहेकै बेला उदयपुरमा कोरोना भाइरस सङ्क्रमण दर पनि तीव्र रुपमा वृद्धि हुँदै गएको छ। स्वास्थ्य कार्यालय उदयपुरका अनुसार एक हप्ताभित्र मात्र जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या दोब्बरले वृद्धि भएको छ।
एक हप्ताअगाडि जिल्लामा सङ्क्रमितको सङ्ख्या २३७ जना थियो भने बिहीबारसम्ममा जिल्लामा सङ्क्रमितको सङ्ख्या ५०४ पुगेको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ। जिल्लाको आठवटा पालिकामा समुदायस्तरमा नै कोरोना भाइरस सङ्क्रमण वृद्धि हुँदै गइरहेको स्वास्थ्य कार्यालय उदयपुरका सूचना अधिकारी चिरञ्जीवी निरौलाले बताए।
दैनिक चिसो र हुस्सु बढेपछि जिल्लाको ग्रामीण भेगका जनताको जनजीवन पनि निकै कष्टकर हुँदै गइरहेको बेला कोराना भाइरस सङ्क्रमण दर पनि तीव्र रूपमा वृद्धि हुँदै गइरहेको सरोकारवाला बताउँछन्।