काठमाडौँ - म्याग्दीको धवलागिरि गाउँपालिका–१ ढुलढुनास्थित गुर्जा खोलामा स्टिल ट्रस पुल निर्माण भएको छ।
गुर्जा हिमालको आधार शिविर र चरन खर्कमा जाने पदमार्गमा पर्ने ढुलढुनास्थित गुर्जा खोलामा पुल निर्माण भएको हो। उपभोक्ता समितिका अध्यक्ष पदम छन्त्यालले पुल बनेपछि दुई घण्टा ३० मिनेटको यात्राअवधि ४५ मिनेटमा छोटिएको बताए। “२६५ घरधुरी स्थानीयवासी, गुर्जा हिमालको आधार शिविर जाने पर्यटक, पर्यटक मजदुर र चरन खर्कमा जाने–आउने कृषक लाभान्वित भएका छन,” उनले भने, “देउरालीदेखि घुमाउरो दुई घण्टा तीस मिनेटको बाटो ४५ मिनेटमा छोटिएको छ।”
यसअघि सो ठाउँमा काठको अस्थायी पुलबाट जोखिम मोलेर आवतजावत गर्ने गरिएको थियो। बस्तीदेखि टाढा रहेको सो ठाउँमा पुल बनाउन गुर्जावासीहरू जङ्गलमै बास बसेका थिए। पुल जडान गर्ने मजदुरसहित १५ जना स्थानीयवासी र उपभोक्ता समितिका पदाधिकारी ११ दिन निर्माणस्थलमै बास बसेका थिए। रु. ३० लाखका लागतमा निर्माण भएको २८ मिटर लामो पुलको उचाइ ३२ मिटर छ। खोलाको सतहदेखि काठको टेका राखेर पुलमा स्टिल डेग जडान गरिएको थियो। २०७७ चैत महिनामा सम्झौता भएको पुल निर्माण कार्य कोरोना महामारी र बर्खाका कारण रोकिएको थियो।
टिभिएसयुद्वारा सञ्चालित स्वाप परियोजना, गाउँपालिका र समुदायको साझेदारीमा पुल निर्माण भएको हो। स्टिल डेग, बुल्डअप ग्रिप र ट्रस खरिद गरेको थियो। निर्माण सामग्री ढुवानी, जडान र निर्माणको काम उपभोक्ता समितिले गरेका हुन्। लुलाङ हुँदै गुर्जा जोड्ने पदमार्गमा पर्ने ओमथान खोलामा पनि रु. ३० लाख ९३ हजारको लागतमा २८ मिटर लामो स्टिल ट्रस पुल निर्माण भएको छ। वडाध्यक्ष झकबहादुर छन्त्यालले गुर्जामा पाँच वर्षको अवधिमा दुईवटा ट्रस र तीनवटा झोलुङ्गे पुल निर्माण भएको जानकारी दिए।
दोप्ताखोलामा ६७ मिटर, कातिखोलामा ५० मिटर, घुर्मखोलामा ३२ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो। धवलागिरि गाउँपालिकामा गत वर्ष सुरु भएका चारवटा स्टिल ट्रस र तीनवटा झोलुङ्गे पुलमध्ये पाँचवटा सम्पन्न भएका प्राविधिक दिलीप थापाले बताए। वडा नं ४ नाउराको कोपिलाघाटमा रु. ४० लाख ९४ हजार ४०५ को लातमा ६७ मिटर लामो झोलुङ्गे र वडा नं २ को आवासखोलामा रु. ३२ लाख ४१ हजार ८४९ को लागतमा ३२ मिटर लामो ट्रस पुल निर्माण भइसकेको छ।
मुनाको पुल्टिसखोला र मल्कवाङको खोलाखर्कको झोलुङ्गे पुल अन्तिम चरणमा छन्। पुल निर्माणका क्रममा सामाजिक तथा प्राविधिक सहजीकरण गैरसरकारी संस्था मिलन म्याग्दीले गरेको थियो।