हिउँमा फँसेका बाबुछोरा उद्धार गर्न गएको हेलिकप्टर आज पनि फर्कियो रित्तै

ताप्लेजुङ।  ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङमा पाँच दिनदेखि हिउँमा फँसेका बाबुछोराको उद्धार हुन सकेको छैन। आज बिहान दुई पटक अल्टिच्युट एयर कम्पनीको हेलिकप्टर उद्धारका लागि गए पनि ठाउँ पहिचान गर्न नसकेपछि उद्धार हुन नसकेको हो। 

अन्दाजी ५०÷५५ वर्षका लाक्पा टासी र उहाँका १४/१५ वर्षीय छोरा पासाङ शेर्पा गत बुधबार हिउँमा फँसेका हुन्। ‘चौँरीसँगै हिउँपहिरोले बगायो तर ओडार भेटेर बसेका छौँ। हामी निस्कन नसक्ने भयौँ’ भन्दै गत शनिबार हेलिकप्टरबाट निकालिदिन लाक्पाले आग्रह गरेको मिक्वाखोला–५ का वडाध्यक्ष डण्डु शेर्पाले बताए। समुद्री सतहबाट चार हजार मिटर उचाइमा अवस्थित पापुङको लोनाक भन्ने ठाउँमा चौँरीगोठ सार्ने क्रममा बाबुछोरा हिउँमा फँसेका हुन्। 

वडाअध्यक्ष शेर्पालाई लाक्पाले फोनमार्फत उद्धारका लागि हेलिकप्टर पठाइदिन आग्रह गरेका थिए। सोहीअनुसार शनिबार ११ बजे ताप्लेजुङको सुकेटारबाट उद्धारका लागि हेलिकप्टर दुई पटक उडान गरेको थियो। तर कुन ठाउँमा हो भन्ने मेसो नपाएपछि हेलिकप्टर रित्तै सुकेटार फर्केको थियो। 

आइतबार बिहान दुई पटक उद्धारका लागि सुकेटरबाट पापुङको लोनाक ठाउँमा गए पनि बाबुछोरा बसेको ठाउँ पत्ता नलागेपछि हेलिकप्टर रित्तै सुकेटार फर्केको ताप्लेजुङ प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे जानकारी दिए। 

फोन सम्पर्क भएकाले बाबुछोरा बसेको ठाउँमा आगो बालेर धुवाँ निकाल्न अनुरोध गरेको पाण्डेले बताए। धुवाँ निस्केपछि ठाउँ पहिचान गरेर हेलिकप्टरमार्फत उद्धार गर्ने पाण्डेले बताए। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×