काठमाडौँ - दुई पटककाे च्याम्पियन वेस्ट इन्डिज टी-२० विश्व कप क्रिकेटकाे पहिलाे चरणबाटै बाहिरिएकाे छ। आज शुक्रवार भएकाे खेलमा आयरल्यान्डसँग ९ विकेटले पराजित भएसँगै वेस्ट इन्डिज सुपर १२ मा नपुगि बाहिरिएकाे हाे।
वेस्ट इन्डिज सन् २०१२ र २०१६ काे टी-२० विश्व कप क्रिकेटमा च्याम्पियन बनेकाे थियाे। हाेबार्टमा वेस्ट इन्डिजले दिएकाे १ सय ४७ रनकाे लक्ष्य आयरल्यान्डले १७ ओभर ३ बलमा १ विकेट गुमाएर भेटायाे। उसका पउल स्टर्लिङले ६६ र लाेर्कन टकरले ४५ रन बनाएका थिए।
यसअघि टस जितेर ब्याटिङ गरेकाे वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो। उसका ब्रान्डन किङले ६२ रन बनाएका थिए। बलिङतर्फ आयरल्यान्डका ग्यारेथ डिलेनीले ३ विकेट लिएका थिए।
याे जितसँगै आयरल्यान्ड समूह 'बी' बाट समूह १२ मा पुग्ने पहिलाे टिम बनेकाे छ। आजै हुने समूह 'बी' कै अर्काे खेलमा जिम्बावे र स्कटल्यान्ड खेल्दैछन्। यस खेलकाे विजेताले दाेस्राे टिमकाे रूपमा समूह १२ स्थान बनाउनेछ।
यसअघि हिजाे बिहीवार भएकाे खेलमा समूह 'ए' बाट श्रीलङ्का र नेदरल्यान्ड्स सुपर १२ मा प्रवेश गरिसकेका छन्।