काठमाडौं - फिल्म ‘हल्कारा : द पोस्टम्यान’बाट अभिनेता महेश त्रिपाठीले पहिलो अन्तर्राष्ट्रिय अवार्ड जितेका छन्। अमेरिकी फिल्म फेस्टिभल वर्ल्डफेस्ट ह्युस्टनमा उक्त फिल्मले उत्कृष्ट अभिनेताको विधामा अवार्ड जितेको हो।
अभिनेता विधामा त्रिपाठीसहित फिल्म ‘अ प्लेस कल्ड होम’बाट बेन ग्याभिन र बेलायती फिल्म ‘फेरी म्यान’बाट ओलिभिर ली पनि प्रतिस्पर्धामा थिए। ग्याभिन र लीलाई उछिन्दै नेपाली अभिनेता महेश त्रिपाठीले अवार्ड हात पारेका हुन्।
यसअघि उक्त फेस्टिभलमा ‘हल्कारा’ले सर्वोत्कृष्ट फिल्म र छायांकन विधामा समेत अवार्ड जितेको छ। गाउँमा खबर पुर्याउने एक चरित्रको कथा प्रस्तुत गर्ने फिल्मलाई विक्रम सापकोटाले लेखन तथा निर्देशन गरेका हुन्।
फिल्ममा हल्कारा पात्रको भूमिकामा महेश फिचर्ड छन्। उनी अभिनित ‘म राजेश हमाल’को छायांकन सकिएको छ र केही छोटा फिल्म रिलिजको तयारीमा छन्।