राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नयाँ भनिएका राजनीतिक दलहरूभित्र प्रधानमन्त्रीको दलाली सुरु भइसकेको आरोप लगाएका छन्। बुधबार राप्रपा नेपालसँगको एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले हाल देखिएको नयाँ राजनीतिक एकताप्रति कडा टिप्पणी गरेका हुन्। रास्वपासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह र ऊर्जामन्त्री कुलमान घिसिङको पार्टीसमेत जोडिने संकेततर्फ इङ्गित गर्दै लिङ्देनले अघिल्लो दिनसम्म एक–अर्कामाथि आरोप–प्रत्यारोप गरिरहेका दलहरू अचानक कसरी एक ठाउँमा आए भन्ने कुरा नै स्पष्ट नभएको बताए।
उनले भने, “अघिल्लो दिन एक–अर्कालाई गाली गरिरहेका दलहरू अर्को दिन किन र कसरी जोडिए भन्ने थाहा छैन। जोडिएर के गर्ने, को कहाँबाट उठ्ने भन्ने पनि स्पष्ट छैन। यस्तो अवस्थामा पार्टीभित्र प्रधानमन्त्रीको दलाली सुरु भइसकेको छ।” लिङ्देनले विचार र सिद्धान्त स्पष्ट नभएका दलहरूको एकतालाई प्रश्न गर्दै स्पष्ट वैचारिक धार बोकेको पार्टी राप्रपा मात्रै रहेको दाबी गरे। वर्तमान राजनीतिक अवस्थामा विचारमा सुस्पष्ट र अविचलित पार्टी आवश्यक रहेको उल्लेख गर्दै उनले राप्रपाको भूमिकालाई अझ बलियो रूपमा प्रस्तुत गरेका छन्।