काठमाडौँ । नेपाली कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि आज बिहान १० बजेदेखि मतदान सुरु भएको छ।
मतदान आज बिहान ८ बजेदेखि सुरु हुने भनिए पनि प्राविधिक तयारीमा ढिलाइ भएकाले बिहान १० बजेदेखि मतदान सुरु भएको निर्वाचन समितिका संयोजक प्रह्लाद गौतमले जानकारी दिए। सभापति पदका उम्मेदवार कृष्णा यादव र रामसरोज यादवले पहिलो आआफ्नो मत खसालेर मतदानको सुरुआत गरेका छन्। जनकपुरधामस्थित गोपाल धर्मशालामा जारी मतदान आज दिउँसो ४ बजेसम्म हुने निर्वाचन समितिका संयोजक गौतमले बताए। हिजो बुधबार नै मतदान हुने कार्यतालिका रहेपनि मतपत्र छपाइमा ढिलाइ भएको भन्दै निर्वाचन समितिले बुधबार साँझ मतदान प्रक्रिया स्थगित गरी आज बिहीबार बिहान ८ बजेदेखि मतदान गर्न लागेको हो।
कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि संस्थापन पक्ष र कोइराला–निधि पक्ष प्यानलसहित चुनावी प्रतिष्पर्धामा उत्रिएका छन्। सहमतिमा नेतृत्व टुङ्गो लगाउने प्रयास असफल भएपछि दुवै समूह छुट्टाछुटै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका हुन्। संस्थापन पक्षले कांग्रेस रौतहटका सभापति कृष्णा यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ भने कोइराला–निधि पक्षले कांग्रेस प्रदेश नं २ संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ। कूल ७२ पदका लागि १७४ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका छन्। जसमध्ये पाँच जना सदस्य निर्विरोध निर्वाचित भएको र छ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिइसकेका छन्।
प्रदेश नं २ का आठ जिल्लाको ६४ वटा प्रदेश निर्वाचन क्षेत्रबाट २५ जना गरी दुई हजार मतदाता रहेको बताइएको छ।