तनहुँ - स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा छ वडाको मतपरिणाम सार्वजनिक भएको छ। आज बिहानसम्म जिल्लाको म्याग्दे गाउँपालिका–३, म्याग्दे –२ ,बन्दीपुर गाउँपालिका–४, घिरिङ गाउँपालिका–२, भिमाद नगरपालिका–१ र आँबुखैरेनी–१ को अन्तिम मतपरिणाम सार्वजनिक भएको हो।सार्वजनिक परिणामअनुसार नेकपा (एमाले)ले तीन, नेपाली कांग्रेसले दुई र नेकपा (माओवादी केन्द्र)ले एक वडा जितेको छ।
भिमाद–१ को अध्यक्षमा कांग्रेसका आले विजयी
भिमाद नगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका दीपक आले विजयी भएका छन्। आले एक हजार ५९ मत प्राप्त गरी विजयी भएका हुन्। अध्यक्षका प्रतिस्पर्धी नेकपा एमालेका बलबहादुर थापाले एक हजार दुई मत प्राप्त गरेका छन्। निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार वडासदस्यमा भने नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।
एमालेबाट महिला वडासदस्यले एक हजार ९६, दलित महिला वडासदस्यले एक हजार ७८, वडासदस्यले एक हजार ७२ र एक हजार एक सय दुई मत प्राप्त गरी विजयी भएको शर्माले जानकारी दिए। कांग्रेसबाट महिला वडासदस्यले नौ सय ४०, दलित महिला सदस्यले नौ सय ३६, वडा सदस्यले आठ सय ८० र आठ सय ८० मत प्राप्त गरेका छन्।
म्याग्दे–२ मा कांग्रेसका क्षेत्री विजयी
म्याग्दे–२ को वडाध्यक्षमा कांग्रेसका शिवबहादुर क्षेत्रीले आठ सय ८९ मत प्राप्त गरी निर्वाचित भएका छन्। निकटतम प्रतिस्पर्धी एमालेका हरिकृष्ण श्रेष्ठले ८७५ मत प्राप्त गरे। सदस्यमा कांग्रेसका रमेश क्षेत्री ८९४, एमालेका महेन्द्रबहादुर रानाभाट ८३५, महिला सदस्यमा कांग्रेसका सीता कुमाल ८८९ र दलित महिला सदस्यमा सोही पार्टीका कल्पना परियार ८३९ मत प्राप्त गरी निर्वाचित भए।
म्याग्दे–३ मा एमालेका अधिकारी विजयी
मतपरिणामअनुसार म्याग्दे–३ को वडाध्यक्षमा एमालेका टुकराज अधिकारीले ६६१ मत प्राप्त गरी विजयी भएका छन्।
उनका प्रतिस्पर्धी कांग्रेसका बलराम भट्टराईले पाँच सय ८७ मत प्राप्त गरेका छन्। यस्तै माओवादीका लेखराज लामिछानेले ३८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उक्त वडामा एक हजार तीन सय ३० मत खसेको थियो।
यसैगरी खुला सदस्यमा कांग्रेसका बालचन्द्र घिमिरेले पाँच सय ८८, एमालेका प्रकाश घिमिरेले पाँच सय ७८, महिला सदस्यमा कांग्रेसका जानकी थापा पाँच सय ६३ र दलित महिला सदस्यमा एमालेका सुनिता नेपाली सात सय दश मत प्राप्त गरी विजयी भएका छन्।
बन्दीपुर–४ मा एमालेको प्यानल विजयी
बन्दीपुर गाउँपालिका–४ मा एमालेको प्यानल विजयी भएको छ। वडाध्यक्षमा एमालेका दानबहादुर थापा सात सय ४० मत प्राप्त गरी विजयी भएका हुन्।
प्रतिस्पर्धी कांग्रेसका सीता थापाले चार सय ६४ मत प्राप्त गर्नुभयो। सदस्यमा एमालेका रवि श्रेष्ठ सात सय एक, भीम घले छ सय ४५, महिला सदस्यमा ममता राना छ सय ७७ र दलित महिला सदस्यमा भगवती सुनारले छ सय ७९ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
घिरिङ–२ मा एमालेको प्यानल विजयी
घिरिङ गाउँपालिका–२ मा एमालेको प्यानल विजयी भएको छ। वडाध्यक्षमा एमालेका नरबहादुर थापा एक हजार १७ मत प्राप्त गरी निर्वाचित भएका छन्।
प्रतिस्पर्धी कांग्रेसका विष्णुवीर थापाले ५७ मत प्राप्त गर्नुभयो। महिला सदस्यमा एमालेकै सनम थापा एक हजार १२, दलित महिला सदस्यमा सुकमाया सुनार रामदामले नौ सय ६३, खुला सदस्यमा आशबहादुर थापाले नौ सय ६० र धनबहादुर रानाले नौ सय ७१ मत प्राप्त गरेका छन्।
म्याग्दे–१ र देवघाट–१ मा एमाले विजयी
म्याग्दे –१ र देवघाट गाउँपालिका–१ मा एमालेले विजय हासिल गरेको हो। म्याग्दे –१ को वडाध्यक्षमा एमालेका मणिभद्र वाग्ले छ सय ९९ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका विनोद खनालले पाँच सय ३६ मत प्राप्त गरे।
खुला सदस्यमा कांग्रेसका मीनबहादुर थापा छ सय ३८, एमालेका मीनबहादुर गुरुङ छ सय आठ, महिला सदस्यमा एमालेका राममाया खडुल मगर सात सय १४ र दलित महिला सदस्यमा एमालेका केशरी सुनार छ सय ९६ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
देवघाट–१ मा एमालेको प्यानल विजयी
देवघाट गाउँपालिका–१ मा नेकपा एमालेको प्यानल विजयी भएको छ।वडाध्यक्षमा एमालेका मनिराज गुरुङ आठ सय ९८ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। निकटतम प्रतिस्पर्धी कांग्रेसका मुक्तिलाल थापा मगरले छ सय ३४ मत प्राप्त गरे।
खुल्ला सदस्यमा एमालेकै बेलबहादुर गुरुङले आठ सय ८१, सुन्दर भुजेलले आठ सय ६३, महिला सदस्यमा मनमाया गुरुङले आठ सय ८४ र दलित महिला सदस्यमा नानुमाया विकले आठ सय ९५ मत प्राप्त गरी विजयी भएका छन्।
आँबु–१ मा माओवादीको प्यानल विजयी
स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा माओवादीले विजयी सुरुआत गरेको छ। आँबुखैरेनी गाउँपालिका–१ को वडाध्यक्षसहित सदस्यमा माओवादीको प्यानल नै विजयी भएको छ। वडाध्यक्षमा माओवादीका प्रेमबहादुर गुरुङ आठ सय ५१ मत प्राप्त गरी विजयी भएका छन्। प्रतिस्पर्धी कांग्रेसका किसन थापाले चार सय १५ मत प्राप्त गरे।
सदस्यमा माओवादीकै हरिबहादुर गुरुङले सात सय ५२, कुमारबहादुर मगरले सात सय ४८, महिला सदस्यमा माओवादीकै बसुन्धरा गौलीले सात सय ५२ र दलित महिला सदस्यमा माओवादीकै सुशीला नेपालीले आठ सय आठ मत प्राप्त गरी विजयी भएका छन्।