काठमाडौँ - १८ वर्षदेखि मलेसिया क्रिकेट संघ (एमसीए) ले संचालन गर्दै आएको ऐतिहासिक किनरारा ओभल क्रिकेट मैदान बन्द हुने भएको छ। एमसीएका अध्यक्ष इकबाल अली कसिम अलीले जुन ३० तारिखमा मैदान खाली गरिने बताएका छन्।
मैदान बन्द हुनुअघि किनरारा ओभलमा दुईवटा अन्तर्राष्ट्रियसहित तीन प्रतियोगिता आयोजना गरिने भएको छ। जुन १ देखि १० सम्म आईसीसी यू-१९ महिला विश्वकप छनोट तथा जुन १५ देखि २५ सम्म एसीसी महिला टी-ट्वान्टी एसिया कप च्याम्पियनसिप आयोजना हुनेछ। त्यसैगरी, जुन १० देखि तीनदिने टी-टेन कर्टेन कल च्याम्पियनसिप आयोजना गरिनेछ।
सन् २००३ मा एमसीएले किनरारा ओभलका लागि १५ वर्षका लागि लिजमा लिने सम्झौता गरेको थियो। सन् २०१९ मा दुई वर्षका लागि सम्झौता बढाइएको थियो।
मैदानका मालिक पेरुमाहान किनरारा बीएचडीसँग आर्थिक लेनदेनमा विवाद उत्पन्न भएपछि एमसीएले मैदान छाड्नु परेको हो।