गोरेटो बाटो मोटरबाटोमा परिणतः स्थानीयवासीको जनजीवन सहज

काठमाडौँ - आङ् सिरिङ्गै हुने भीरपाखा। वस्तुभाउ उकाली–ओराली गराउँदासमेत समस्या। जिल्लाकै बढी भौगोलिक रूपमा भिरालो जमिन भएको पालिका हो, बागलुङको तमानखोला गाउँपालिका।

अहिले त्यही आङ्ग सिरिङ्गै हुने भीरमा बाह्रै महिना सवारी गुड्दै आएका छन्। तमानखोला गाउँपालिका–६ स्थित नर्जाखानीका कली छन्त्यालले यस्तो भीरपाखामा मोटर गुड्लान भनेर कहिलै नसोचेको बताउनुभयो । घर अघिबाट दैनिक सवारी गुड्दा छन्त्यालले विकासको अनुभुति गरेका छन्। “मोटरबाटोले गाउँको मुहारै फेरिएको छ, तारे भीर काटेर मोटर आउँलान भन्ने सोचेकै थिएनौं, चार वर्षअघिसम्म गाउँपालिकाको केन्द्र बोङ्गादोभान सम्म नै ६ महिना सवारी देखिदैन्थे”, उनले भने, “अहिले मोटरेवल पुल बनेपछि गाउँपालिकाको केन्द्र बोङ्गादोभानमा बाह्रैमास सवारी आउँछन्, गाउँका साना–साना खोलामा समेत हिमपाइप राखिएको छ, खोला बढ्दा एक दुई दिन समस्या हुन्छ नत्र बाह्रैमास गाउँमा सवारी गुड्छन्।”

पहिला पहिला सडक नहुँदा बिरामीलाई मान्छेले डोकोमा बोकेर लैजानु परेको र समयमै उपचार नपाउँदा अकालमा ज्यान गुमाउनु परेको अवस्था थियो।अहिले मोटरबाटोले गर्दा बिरामीहरु गाडीमै अस्पतालसम्म पुगेर उपचार गराउन पाउने भएकाले यहाँका स्थानीयवासी खुसी भएका छन् । बागलुङको सबैभन्दा बिकट मानिने तमानखोलाका सबै टोल सडक सञ्जालसंग जोडिएका छन्।

गाउँपालिका स्थापना भएको पाँच वर्षमा यहाँका २७ वटै बस्तीमै सडक पुगेको छ । गाउँपालिकाका अनुसार पाँच वर्षमा गाउँपालिकाले १२९ किलोमिटर सडक निर्माण गरेको छ। विकास पूर्वाधारका हिसाबले स्थानीय तह गठन हुनुपूर्व यहाँका नागरिकको दैनिकी कष्टकर भएपनि अहिले सडक निर्माणले जनजीवन सहज भएको छ। बाह्रैमास सडक सञ्चालनका लागि  मोटरेवल पुल र पुल नबेको खोलामा कल्र्भट समेत बनाइएको छ। पाँच वर्ष अघिसम्म मोटरबाटोले गाउँहरू जोडिएका थिएनन्। त्यसले गर्दा तमानखोलावासी घण्टौँ लगाएर दैनिक उपभोग्य सामान घोडा-खच्चडमा ढुवानी गर्थे। तर घोँडाखच्चड हिँड्ने गोरेटो बाटो अहिले मोटरबाटोमा परिणत भएका छन्।

भौगोलिक हिसाबले पिछडिएको यस ठाउँमा सडक निर्माण गर्नु निकै चुनौतीपूर्ण रहेको थियो।  गाउँपालिका, गण्डकी प्रदेश र सङ्घीय सरकारको सहयोग र सहकार्यमा यहाँका विभिन्न सडक निर्माण भएको गाउँपालिकाले जनाएको छ। गाउँ–गाउँमा सडक पुगेपछि आमनागरिकको दैनिकी फेरिएको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×