काठमाडौँ - नेपाली राष्ट्रिय टिमका फरवार्ड मनिष डाँगी बहराइनको दोश्रो डिभिजनको इतिहाद अल रिफ क्लबमा अनुबन्ध भएका छन्।
उनलाई अनुबन्ध गरेको इतिहाद क्लबले जानकारी दिएको छ।
क्लबले इन्स्टाग्राम पोस्टमा सूचना राख्दै मनिष लगायत अन्य खेलाडीलाई अनुबन्ध गरेको जनाएको हो।
गत सिजन मछिन्द्र क्लबबाट सहिद स्मारक ए डिभिजन लिग जितेका मनीष राष्ट्रिय टिमका मुख्य सदस्य हुन्। दक्षिण कोरियामा हुर्किएका मनीष नागरिकता बनाउन नेपाल आएका बेला खालीबारी क्लबबाट खेल्दै नेपाली फुटबलमा डेब्यू गरेका थिए।
सहिद स्मारक ए डिभिजन लिग नै नखेली राष्ट्रिय टिममा पुगेका मनीष गत अक्टोबरमा नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुग्दा महत्त्वपूर्ण सदस्य थिए।