काठमाडौँ - बायर्न म्युनिखले शनिबार राति आरबी लाइपजिगलाई ५-३ ले हराउँदै जर्मन सुपर कपको उपाधि जितेको छ।
लाइपजिगको घरेलु मैदानमा जर्मन बुन्डेसलिगा उपाधि विजेता बायर्नले १४औँ मिनेटमा जमल मुसिलाको गोलबाट अग्रता लिएको थियो। ३१औँ मिनेटमा सडियो मानेको गोलबाट बायर्नले अग्रता दोब्बर बनाएको थियो।
माने यसै सिजन लिभरपुलबाट बायर्न म्युनिखसँग अनुबन्ध भएका हुन्। ४५औँ मिनेटमा बायर्नका बेन्जामिन पभार्डले तेस्रो गोल थपेका थिए।
५९औँ मिनेटमा मार्सेल हाल्सटेनबर्गले गरेको गोलबाट लाइपजिगले पुनरागमनको प्रयास गरेको थियो। ६६औँ मिनेटमा बायर्नका सेर्गी गेनाब्रीले अर्को गोल थपेका थिए।
जर्मन कपको उपाधि विजेता लाइपजिगका क्रिस्टोफर एनकुनकुले पेनाल्टीमा अर्को गोल गरेका थिए। ८९औँ मिनेटमा लाइपजिगका ड्नियल ओल्मोले तेस्रो गोल थपे। इन्ज्युरी समयमा लेरोए सानेले अर्को गोल थपेपछि बायर्नले सहज जित निकालेको हो।
बायर्नले अब फ्रांकफर्टविरुद्धको गोलबाट बुन्डेसलिगाको नयाँ सिजन सुरुआत गर्नेछ। लाइपजिगले नयाँ सिजनको पहिलो खेल भीएफबी स्टुटगार्टविरुद्ध खेल्नेछ।