बन्दीपुरमा १६०० रोपनीमा चक्लाबन्दी

तनहुँ - बन्दीपुर गाउँपालिकाले स-साना गह्राहरु मासेर चक्लाबन्दी गर्ने कार्यलाई तीव्रता दिएको छ। गाउँपालिकाले हालसम्म एक हजार ६ सय रोपनी क्षेत्रफलमा चक्लाबन्दी गरिसकेको छ।  बन्दीपुर गाउँपालिका–१ र ३ वडामा जमिन चक्लाबन्दी गरिएको हो। वडा नं ३ मा एक हजार रोपनी र वडा नं १ मा ६ सय रोपनीमा चक्लाबन्दी गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए। उक्त कार्यलाई निरन्तरता दिइने उनले भने। “कृषि क्षेत्रमा आधुनिकीकरण गरी आयआर्जनमा वृद्धि गर्ने लक्ष्य छ”, उनले भने।  

स–साना गह्रा र बारीमा गोरुले जोत्न गाह्रो हुने र गोरु पाल्ने चलन पनि बिस्तारै हराउँदै जान थालेपछि जग्गा चक्लाबन्दीलाई प्राथमिकतामा राखिएको हो। जग्गा चक्लाबन्दी गरिएको क्षेत्रमा जोत्न र खेती लगाउन सजिलो होस् भन्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा किसानलाई हाते ट्र्याक्टर उपलब्ध गराइएको छ। किसानलाई ट्र्याक्टर, कुटानी–पिसानी मिललगायत ५२ थान कृषि औजार प्रदान गरिएको अध्यक्ष थापाले बताए। उनले भने, “गाउँपालिकाले रु १४ लाख मूल्य बराबरको किसानलाई कृषि औजार प्रदान गरेको छ।”

जमिन चक्लाबन्दी गरेपछि त्यस क्षेत्रका किसान उत्साहित भएर खेती गर्न थालेका छन्। साना खेतबारीलाई डोजर लगाएर ठूला गह्रा बनाएपछि खेती लगाउन सजिलो हुनाका साथै आधुनिक कृषि औजार प्रयोग गरिँदा थोरै जनशक्तिले पनि धेरै काम गर्न सकिनेछ। चक्लाबन्दीमार्फत कृषि उत्पादनमा वृद्धि गरी खाद्यान्न बालीमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×