हिमपात कारण ताप्लेजुङवासी प्रभावित 

ताप्लेजुङ - फुङ्लिङ, ताप्लेजुङमा पछिल्लो केही साता दिनहुँजसो हिमपात भइरहेको छ। माघ महिनाको दोस्रो सातायता प्रायः धुम्मिँदो मौसम रहेको छ भने जिल्लाको उच्च हिमाली क्षेत्रमा निरन्तर हिमपात हुँदै आएको छ। 

निरन्तरको हिमपातले हिमाली क्षेत्रको जनजीवन भने कष्टकर बन्दै गएको छ। निरन्तर हिमपात भइरहने र घाम नलाग्ने भएकाले  यहाँको जनजीवन कष्टकर बन्दै गएको हो।  हिमपात हुने क्रम अहिले पनि जारी छ। शुक्रबार बिहानैदेखि हिमाली क्षेत्रमा हिमपात भइरहेको छ। स्थानीयवासीका अनुसार उच्च डाँडामा भारी हिमपात भइरहेको छ। हिमाली बस्ती फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङ्गोला, याङ्मा, फक्ताङ्लुङकै वडा नं ६ स्थित लेलेपको घुन्सा, फले, ग्याब्लालगायत स्थानमा हिमपात भइरहेको छ। घुन्साका कासाङ शेर्पाले लामो समयदेखि हिमपात जारी रहँदा जनजीवन कष्टकर हुन थालेको बताए। 

गत पुस अन्तिम साता घुन्सालगायत हिमाली बस्ती तथा उच्च हिमाली क्षेत्रमा बाक्लो हिउँ परेको र त्यसबेला परेको हिउँ नै अहिलेसम्म पग्लिन नपाएको उनको भनाइ थियो। लामो समयदेखि मौसममा सुधार नआएको र हिउँ पर्नेक्रम जारी रहेकाले सुरुमा परेको हिउँ अहिलेसम्म जमिरहेको छ। दिनहुँजसो सामान्य हिउँ परिरहेकाले घुन्सासहित फले, याङ्मा ओलाङचुङ्गोला, तोक्पेगोला, पाथीभरा फेदीबजारलगायत बस्तीमा सुरुदेखि परेको हिउँ नै अझै जमिरहेको छ।

यसरी निरन्तर हिमपातको क्रमसँगै शुक्रबार बिहानदेखि झन बाक्लो हिउँ परिरहेको छ। स्थानीयवासिन्दाका अनुसार मिक्वाखोला गाउँपालिका–५ पापुङको तोक्पेगोला, सिरिजङ्घा गाउँपालिकाको याम्फुदिन, मामाङ्खे, खेबाङ, सिदिङ्वा गाउँपालिकाको कालीखोला, सुरुम्खिम, मैवाखोला गाउँपालिकाको साँघु, फाकुम्बालगायत गाउँको उच्च भेगतिर हिमपात भएको छ। यता तीन हजार ७९४ मिटर उचाइ भएको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा पनि हिउँ परिरहेको फेदी बजारका राजेन्द्र महतले जानकारी दिए। पाथीभरा धाम, फेदीबजार र तल्लो फेदी काफ्लेपाटी क्षेत्रसम्म हिमपात भएको उनको भनाइ थियो। 

जिल्लाको हिमाली क्षेत्रमा हिमपातका क्रम जारी रहेसँगै धेरै दिनदेखि मौसम धुम्मिँदा चिसोले दैनिक जीवन यापनमा असर परेको बताइएको छ। चिसोले बालबालिका, वृद्धवृद्धा र पशुचौपायामा बढी समस्या परेको छ। यता चिसोका कारण अहिले धेरैजनालाई रुघाखोकीले सताउन थालेको पाइएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×